समय सुरु हुनुभन्दा अघि परमेश्वर हुनुहुन्थ्यो। उहाँले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो। परमेश्वरले उहाँको प्रेममा मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र उसलाई एउटा सुन्दर बगैँचामा राख्नुभयो। परमेश्वरले दिनुभएका आज्ञाहरू मानिसले पालन गरेन। त्यस्तो अनाज्ञाकारिता पाप थियो र मानिस परमेश्वरदेखि अलग भयो। परमेश्वरले मानिसलाई तिनीहरूका पापका निम्ति निष्खोट जनावरहरूको बलि चढाउने आज्ञा दिनुभयो। त्यस्ता बलिदानहरूले तिनीहरूका पापको पूरा मूल्य त चुकाउँदैनथे, तर तिनले परमेश्वरले जुटाउनुहुने अन्तिम बलिदानलाई औँल्याउँथे। एक दिन परमेश्वरले उहाँका पुत्र येशूलाई सारा मानिसहरूका पापको अन्तिम बलिदान हुनका निम्ति यस संसारमा पठाउने योजना गर्नुभयो।
मरियम र स्वर्गदूत
धेरै वर्षपछि, नासरत सहरमा मरियम नाउँकी एउटी कन्या केटी बस्थिन्। तिनको योसेफ भनिने पुरुषसँग विवाह हुनको लागि मगनी भइसकेको थियो। एक दिन एक जना स्वर्गदूत मरियमकहाँ देखा पर्यो र तिनले एक जना विशेष बालक जन्माउनेछिन् र तिनले उहाँको नाउँ येशू राख्नुपर्छ भनी त्यस स्वर्गदूतले भन्यो। त्यस बालकको सांसारिक पिता हुने थिएन। उहाँ परमेश्वरका पुत्र हुनुहुने थियो।
येशूको जन्म
स्वर्गदूतसँग त्यसरी भेट भएपछि योसेफ र मरियम जनगणना गर्न लामो यात्रा गरी बेथलेहेम गए। तिनीहरू बेथलेहेम पुग्दा त्यो सहरमा मानिसहरूको ठूलो भीड थियो। तिनीहरूले एउटा गोठमा रात बिताए, किनकि पौवामा कुनै ठाउँ थिएन। येशू त्यहीँ जन्मनु भयो। मरियमले बालक येशूलाई लुगाले बेह्रेर डूँडमा राखिन्।
गोठालाहरू
त्यही रात सहरदेखि बाहिरको डाँडामा केही गोठालाहरू आफ्नो भेडा बगालको हेरचाह गर्दै बसिरहेका थिए। एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा पर्यो अनि परमेश्वरको तेज ती गोठालाहरूको वरिपरि चम्कयो। स्वर्गदूतले भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आजको रात एक मुक्तिदाताको जन्म भएको छ। उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। तिमीहरूले त्यस बालकलाई लुगाले बेह्रेको र डूँडमा सुताइराखेको भेट्टाउनेछौ।” त्यसपछि परमेश्वरको महिमा र प्रशंसा गर्दै अरू धेरै स्वर्गदूतहरू देखा परे। तिनीहरूले भने, “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!” स्वर्गदूतहरू ती गोठालाहरूबाट बिदा भएपछि तिनीहरू आफ्ना भेडाहरू त्यहीँ छाडेर आतुरीसँग बेथलेहेमतिर गए। अनि स्वर्गदूतले भनेकै जस्तो अवस्थामा तिनीहरूले बालकलाई भेट्टाए।
ज्योतिषीहरू
येशूको जन्म भइसकेपछि कुनै अर्को देशका ज्योतिषीहरू यरूशलेममा आए। तिनीहरूले सोधे, “यहूदीहरूका राजा भई जन्मने बालक कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं, र उहाँलाई दण्डवत् गर्न चाहन्छौं।” जब राजा हेरोदले यो कुरा सुने, तब उनी खुसी भएनन्। तिनले पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अगमवक्ताहरूले बेथलेहेममा एक जना शासकको जन्म हुनेछ भनी भनेका छन् भन्ने कुरा तिनीहरूले तिनलाई भने। राजा हेरोदले ती ज्योतिषीहरूलाई त्यस राजाको खोजी गर्न बेथलेहेम पठाए। ती ज्योतिषीहरू यरूशलेमबाट निस्किँदा एउटा ताराले तिनीहरूलाई एउटा घरसम्म डोऱ्यायो, जहाँ तिनीहरूले येशूलाई भेट्टाए। तिनीहरूले उहाँलाई सुन, सुगन्धित धूप र मूर्रको भेटी चढाउँदै, उहाँको सामु घोप्टो परे र उहाँलाई दण्डवत् गरे। परमेश्वरले सपनामा ती ज्योतिषीहरूलाई हेरोदकहाँ फर्केर नजानू भनी चेताउनी दिनुभयो, यसैले तिनीहरू अर्कै बाटो भएर आफ्ना घर फर्किए।
परमेश्वरले उपहार दिनुको कारण
येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो। उहाँले पापरहित जीवन जिउनुभयो र उहाँका सबै चालमा उहाँ सिद्ध हुनुहुन्थ्यो। तीस वर्षको हुनुभएपछि येशूले मानिसहरूलाई उहाँका पिता परमेश्वरको विषयमा शिक्षा दिन थाल्नुभयो। उहाँले धेरै आश्चर्यकर्महरू गर्नुभयो, जस्तै दृष्टिविहीनलाई दृष्टि दिनुभयो, मानिसहरूलाई तिनीहरूका रोगहरूबाट निको पार्नुभयो, मृतकहरूलाई समेत पनि फेरि जीवित पार्नुभयो। सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले स्वर्गमा अनन्त जीवन पाउने उपायको बारेमा शिक्षा दिनुभयो। त्यसपछि उहाँले सारा संसारका पापका निम्ति आफ्नो जीवन बलिदानको रूपमा दिनुभयो।
बाइबलमा भएको यूहन्नाको पुस्तकको ३ अध्यायको १६ पदले भन्छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” येशू सर्वोच्च बलिदानको रूपमा क्रूसमा मर्नका निम्ति यस संसारमा आउनुभयो। उहाँको मृत्युद्वारा सबै पापको मूल्य चुकाइएको छ। अब उप्रान्त पापका निम्ति कुनै बलिदान चढाउनु पर्ने आवश्यकता छैन। यो उद्धारकर्ता पठाउने परमेश्वरको प्रतिज्ञाको परिपूर्णता थियो।
येशू दुष्ट मानिसहरूको हातद्वारा मारिनुभयो, तापनि उहाँमाथि मृत्युको कुनै शक्ति थिएन। मरेको तीन दिनपछि, उहाँ मृत्युबाट विजयी बनी उठ्नुभयो। येशूको पुनरुत्थानपछिका दिनहरूमा, धेरै मानिसहरूले उहाँलाई देखे। अनि एक दिन आफ्ना चेलाहरूलाई आशिष् दिनुभएपछि उहाँ स्वर्गतिर उचालिनुभयो।
जब हामीले येशूमा विश्वास गर्ने र आफ्नो जीवन उहाँमा समर्पण गर्ने निर्णय गर्छौं, तब उहाँको रगतले हाम्रा सबै पापबाट हामीलाई शुद्ध पार्दछ। हामीले मुक्तिको यो उपहारलाई ग्रहण गरेपछि हामी परमेश्वरसँग फेरि एक हुन्छौं। येशू हाम्रा व्यक्तिगत मुक्तिदाता बन्नुहुन्छ, अनि उहाँको सन्तान हुँदा पाउने आशिषहरूको आनन्द उपभोग गर्न सक्छौं! एक दिन येशू फेरि आउँदै हुनुहुन्छ। उहाँले सबै साँचो विश्वासीहरूलाई स्वर्गमा लैजानुहुनेछ। त्यहाँ तिनीहरू परमेश्वरको साथमा सदासर्वदा जिउनेछन्।