पवित्र परमेश्वरले मानिसलाई पापको दोषी भेट्नुभएको र मृत्युको फैसला सुनाउनुभएको छ भन्ने कुरा के तपाईंलाई थाहा छ? मानिसले यो अनन्त मृत्युबाट उम्कने हो र अनन्तको लागि बाँच्ने हो भने, उसले परमेश्वरको कृपालाई ग्रहण गर्नुपर्छ। यस अर्थमा कृपा भनेको मानिस दण्ड पाउने योग्य हुँदा हुँदै पनि परमेश्वरले उसबाट दण्ड हटाइदिनु हो। परमेश्वरले मानिसहरूमा आफ्नो कृपा बिना सर्त दिनुहुन्न, यद्यपि मुक्ति सित्तैँमा पाइन्छ, बिना मूल्य पाइन्छ, र कमाउन सकिँदैन। परमेश्वरले कृपा दिनु हुँदाको सर्त भनेको पश्चात्ताप हो।
बप्तिस्मा दिने यूहन्ना परमेश्वरको वचन प्रचार गर्दै आए र उनको सन्देश सरल र शक्तिशाली थियो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ” (मत्ती ३:२)। परमेश्वरका पुत्र येशूले त्यही सन्देश दिनु हुँदै आफ्नो सेवकाइ सुरु गर्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ” (मत्ती ४:१७)। मुक्तिको निम्ति पश्चात्ताप आवश्यक तत्त्व हो, जस्तो कि प्रेरित पत्रुसले भने, “यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्” (प्रेरित ३:१९)। पश्चात्तापमार्फत नै कृपाको ढोका खोलिन्छ र मुक्ति प्राप्त हुन्छ।
सबैले पाप गरेका छन्
हाम्रो संसारमा कैयौँ मानिसहरू छन्, र धेरै अर्थमा हामी एक अर्काबाट भिन्न छौं। तर यो सन्देश हामी सबैको निम्ति साझा छ: “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्” (रोमी ३:२३)। अझै थप कुरा सुन्नुहोस्, “धर्मी कोही छैन, एक जना पनि छैन” (रोमी ३:१०)। परमेश्वरले आफ्ना अगमवक्ता यशैयाद्वारा बोल्नुभयो, “हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं” (यशैया ५३:६)। धर्मशास्त्रका यी खण्डहरूमा भएको केन्द्रीय विचारलाई तपाईंले याद गर्नुभयो? “सबै बरालिएका छौं।” “सबैले पाप गरेका छन्।” “धर्मी कोही छैन।” के यसमा तपाईं पनि समावेश हुनुहुन्न र? तपाईंको प्राण, तपाईंको जीवन परमेश्वरको अधीनमा छ। परमेश्वरलाई आफ्नो जीवनको मालिकको रूपमा पहिचान नगर्ने पुरुष वा स्त्री अनाज्ञाकारिता र पापमा रहन्छ। “जुन प्राणले पाप गर्छ, त्यही मर्छ” (इजकिएल १८:४)।
पापले अलग गर्छ
तपाईंको पापहरूले तपाईंलाई परमेश्वरबाट अलग गरेको छ। तपाईंले आफूभित्र एउटा चाहना महसुस गर्नुहुन्छ जुन तपाईंले वर्णन गर्न सक्नुहुन्न। तपाईंले आफू त्यागिएको र परमेश्वरले तपाईंलाई सुन्नु नभए झैँ महसुस गर्न सक्नुहुन्छ। यसको कारण परमेश्वरले औँल्याउनुहुन्छ, “निश्चय नै परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्न नसक्ने गरी बाक्लो भएको छ। तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्नुहुनेछैन” (यशैया ५९:१, २)। फेरि पनि, “किनकि पापको ज्याला मृत्यु हो” (रोमी ६:२३)। जसै तपाईंले तपाईंको जीवन र तपाईंको पापहरूको बारेमा सोच्नुहुन्छ, परमेश्वरको बारेमा पनि सोच्नुहोस्। परमेश्वर पापरहित हुनुहुन्छ, त्यसैले उहाँ पवित्र, धार्मिक, र न्यायी हुनुहुन्छ। परमेश्वरले भन्नुहुन्छ पापको न्याय हुनैपर्छ: “किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस्, प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ।” (उपदेशक १२:१४)। तपाईं र परमेश्वरको बीचमा एउटा ठूलो धाँदो छ। पवित्र परमेश्वर र पापी मानिसको बीचमा भएको त्यो धाँदोलाई जोड्ने बाटो नभेट्नुभएसम्म तपाईंले अनन्त मृत्यु भोग्नुपर्छ! (लूका १६:२६) तर सुन्नुहोस्, एउटा उपाय छ—तपाईंको निम्ति आशा छ!
येशूले ढोका खोल्नुहुन्छ
यो कुरा सत्य हो कि परमेश्वरले पापको निम्ति मृत्युको फैसला गर्नुभएको छ, तर उहाँ प्रेमको परमेश्वर पनि हुनुहुन्छ। “परमेश्वर प्रेम हुनुहुन्छ” (१ यूहन्ना ४:१६)। तपाईं पापमा बाँच्दै गर्नुभएको भएतापनि परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ। (यूहन्ना ३:१६) परमेश्वरले पापमाथि आफ्नो इन्साफ कार्यान्वयन गर्नुहुनेछ, र यदि परमेश्वरले यो इन्साफ मानिसमाथि खन्याउनुहुने हो भने, ऊ तत्कालै मर्ने थियो। त्यसैले कोही पनि नाश नहोस् भन्ने इच्छा राखेर परमेश्वरले आफ्नै पुत्र येशूलाई हाम्रो पापहरूको दण्ड भोग्नलाई पठाउनुभयो ताकि हामी बाँच्न सकौं। बाइबलले भन्छ: “यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख” (रोमी ११:२२)। परमेश्वरको दयाले मानिसलाई बचाउने इच्छा राख्छ तर उहाँको इन्साफले दण्डको माग गर्छ।
येशू यस संसारमा हाम्रो प्राणहरूको उद्धार गर्ने खास उद्देश्यको निम्ति आउनुभयो। उहाँ पवित्र, पापरहित, दोषरहित परमेश्वरका थुमा हुनुहुन्थ्यो। परमेश्वरले हाम्रो पापहरू र दोष लिएर तिनलाई येशूमाथि राख्नु हुँदाखेरि हाम्रो निम्ति उहाँको प्रेम प्रमाणित भयो। उहाँको दयालाई हेर्नुहोस्! हाम्रो ठाउँमा येशू अब पाप बन्नुभयो, र परमेश्वरको न्यायलाई सन्तुष्ट पार्न उहाँ क्रूसमा टाँगिनुभयो। उहाँले त्यो पीडा र चोटलाई सहन गर्नुभयो र त्यसपछि मर्नुभयो। हाम्रो पापको मूल्य चुकाइयो। परमेश्वरको कठोरतालाई हेर्नुहोस्!
पश्चात्ताप, हाम्रो भूमिका
येशू तपाईंको लागि मर्नुभएको तपाईं देख्न सक्नुहुन्छ? उहाँ तपाईंको पापहरूको कारणले गर्दा मर्नुभयो। येशूलाई वास्तवमा कसले क्रूसमा टाँग्यो? के यहूदी शासकहरू, वा पिलातस, वा रोमी सिपाहीहरू मात्र जिम्मेवार थिए? हजारौं सङ्ख्यामा भएका मानिसहरूको भीडलाई प्रेरित पत्रुसले प्रचार गरे। पत्रुसको सन्देश नितान्त जायज थियो: “... यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो” (प्रेरित २:२३)। के तपाईं त्यो क्रूसमा टाँगिनुभएको येशूलाई हेरेर आफ्नो पाप स्वीकार गर्नुहुन्छ?
परमेश्वरको आत्माको शक्तिद्वारा तपाईंले महसुस गर्नुहुनेछ कि तपाईं विकराल रूपमा हराउनुभएको छ। जसै यो आभास तपाईंको हृदयमा गह्रौँ हुन्छ, यसले पापको बोझ र पछुतो ल्याउनेछ। निराशामा तपाईं चिच्याउनुहुनेछ, “हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्!” (लूका १८:१३)। जसै परमेश्वरले तपाईंको निश्चल बिन्ती सुन्नुहुन्छ, उहाँले तपाईंलाई बचाउनुहुनेछ। तपाईंको बोझ हट्नेछ, र तपाईं नयाँ गरी जन्मनुहुनेछ। जसै तपाईंले उहाँलाई पछ्याउँदै गर्नुहुन्छ, तपाईं अघिका पापको बाटोहरूबाट फर्केर स्वर्गीय कुराहरूमा लाग्नुहुनेछ। उहाँकहाँ आउने सबैको हृदयमा परमेश्वरले ल्याउनुहुने पश्चात्तापको कार्य यही हो। तब तपाईंको हृदय धोएर शुद्ध हुनेछ, र तपाईंले शान्ति, आनन्द, र सुरक्षा पाउनुहुनेछ।
अन्तिममा, पश्चात्तापले ख्रीष्ट र परमेश्वरको इच्छाप्रति अति गहिरो सराहना र भक्ति उत्पन्न गर्छ। जब कुनै उपाय नभएर हामी मर्ने अवस्थामा थियौँ, ख्रीष्टले भन्नुभयो, “मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु” (मत्ती ११:२८)। “हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो” (१ यूहन्ना ४:१९)।