एक समयमा यो संसारमा केही पनि थिएन।
न माछा।
न आकाशमा तारा।
न समुन्द्र, न त सुन्दर फुलहरू नै।
सबै शून्य र अन्धकार थियो।
तर परमेश्वर हुनुहुन्थ्यो।
परमेश्वरसँग राम्रो योजना थियो। उहाँले सुन्दर संसारको बारेमा सोच्नुभयो, र जस्तो उहाँले सोच्नुभयो, त्यस्तै उहाँले बनाउनुभयो। उहाँले सबै थोक शून्यताबाटै बनाउनुभयो। परमेश्वरले जुनसुकै थोक बनाउनुहुँदा, उहाँले यति मात्र भन्नुभयो, “यो बनियोस्” र त्यो बनियो!
उहाँले ज्योति बनाउनुभयो। उहाँले नदीहरू र समुन्द्रहरू, घाँसले ढाकिएको पृथ्वी, पशु-पक्षीहरू र रुखहरू बनाउनुभयो।
अन्त्यमा, उहाँले एक पुरुष मानिस बनाउनुभयो, अनि त्यस मानिसको निम्ति एक स्त्री बनाउनुभयो। उनीहरूको नाउँ आदम र हव्वा थियो।
परमेश्वरले उनीहरूलाई औधी प्रेम गर्नुहुन्थ्यो। प्रत्येक साँझ उनीहरू रहँदै गरेको सुन्दर बगैँचामा परमेश्वर उनीहरूलाई भेट गर्न आउनुहुन्थ्यो।
त्यस बगैँचामा भएका सम्पूर्ण कुराहरू उनीहरूले आनन्दसाथ उपभोग गर्न सक्थे, तर त्यहाँ भएको एउटा रूखको फल नखानू भनी परमेश्वरले उनीहरूलाई आज्ञा गर्नुभयो।
उनीहरू त्यहाँ खुसी नै थिए तर परमेश्वरको शत्रु शैतानले एक दिन आदम र हव्वालाई परीक्षामा पार्यो। परमेश्वरले मनाही गर्नुभएको रुखको फल चाख्ने उनीहरूले निर्णय गरे। उनीहरूले पाप गरे। पहिलो पटक उनीहरू लज्जित र दुःखित भए।
उनीहरूले त्यस बेलादेखि उसो परमेश्वरसँग कुरा गर्न सकेनन्। अब उनीहरूलाई दुःख र सङ्कट आइपर्ने भयो। अनि उनीहरू मर्नुपर्ने भयो। उनीहरू कत्ति दुःखित थिए होलान्!
परमेश्वरले उनीहरूलाई सहायता गर्ने प्रतिज्ञा गर्नुभयो। ठीक समय आउँदा, उहाँले आफ्नो पुत्र येशूलाई यस संसारमा पठाउनुहुने थियो। येशू स्वर्गबाट आउनुहुने थियो र पाप-क्षमाको निम्ति एउटा उपाय गर्नुहुने थियो। यसो गर्नको निम्ति येशूले मानव जातिको लागि दुःख भोग्नुपर्थ्यो र मर्नुपर्थ्यो। परमेश्वरले मुक्तिदाता पठाउनुहुन्छ भन्नुहुँदा उनीहरू कति खुसी थिए होलान्!
आदम र हव्वाको छोराछोरी र नातिनातिनाहरू भए। केही समयपछि नै, संसारमा धेरै मानिसहरू भए।
सबै जना खुसी भएको परमेश्वरले चाहनुहुन्थ्यो। उनीहरूले के गर्नुपर्छ भनी उहाँले भन्नुभयो। परमेश्वरले उनीहरूलाई दिनुभएको नियमहरू यहाँ उल्लेख गरिएका छन्:
१. मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।
२. आफ्नो निम्ति खोपेर कुनै मूर्ति नबनाउनू।
३. परमप्रभु परमेश्वरको नाउँ व्यर्थमा नलिनू।
४. शबाथ-दिन पवित्र मान्नुपर्छ भनि याद राख्नू।
५. आफ्नो बुवा र आमालाई आदर गर्नू।
६. हत्या नगर्नू।
७. व्यभिचार नगर्नू।
८. चोरी नगर्नू।
९. आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
१०. आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू। (प्रस्थान २०:३-१७ अर्थात् बाइबलमा भएको प्रस्थानको पुस्तकको २० अध्यायको ३ पददेखि १७ पदसम्म)।
हामीले पनि यी पढ्न सकौं भनी यी बाइबलमा लेखिएका छन्। यदि हामीले यी पालना गर्यौं भने हामी खुसी हुन्छौं।
हामीले यी कुराहरूको पालना गरेको शैतानले चाहँदैन। कहिलेकाहीँ कसैले पनि नदेखेको बेलामा केही कुरा चोर्नलाई त्यसले हामीलाई भन्छ। तर परमेश्वरले यो जान्नुहुन्छ। परमेश्वरले सबै कुरा देख्नुहुन्छ।
कहिलेकाहीँ शैतानले हामीलाई झूट बोल्न परीक्षामा पार्छ र कसैले पनि थाहा पाउँदैन भनी विचार गर्न लगाउँछ। परमेश्वरले यो जान्नुहुन्छ। उहाँले सबै कुरा सुन्नुहुन्छ।
जब हामी यी कुराहरू गर्छौं, हामीलाई भित्र नराम्रो लाग्छ। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँले हामीलाई असल हुनको लागि सहायता पनि गर्नुहुन्छ। त्यसैकारणले उहाँले येशूलाई संसारमा पठाउनुभयो। परमेश्वरले आफ्नो प्रतिज्ञा सम्झनुभयो।
धेरै वर्षपछि, येशू सानो बालकको रूपमा जन्मनुभयो। उहाँ हुर्कनुभयो र वयस्क मानिस हुनुभयो।
उहाँले अचम्मको कामहरू गर्नुभयो। उहाँले रोगीहरूलाई निको पार्नुभयो र उहाँले दृष्टि-विहीनहरूलाई दृष्टि दिनुभयो। उहाँले बालकहरूलाई आशिष् दिनुभयो।
येशूले कहिल्यै पनि गलत गर्नुभएन। उहाँले मानिसहरूलाई परमेश्वरको बारेमा र उहाँको आज्ञापालन कसरी गर्ने भनी बताउनुभयो।
केही समयपछि येशूका शत्रुहरूले उहाँलाई कीला ठोकी क्रूसमा टाँगे। उहाँ मर्नुभयो।
उहाँले सम्पूर्ण मानिसहरूको पापको निम्ति, यतिसम्म कि उहाँलाई क्रूसमा टाँग्ने मानिसहरूको निम्ति समेत पनि, दुःख भोग्नुभयो र उहाँ मर्नुभयो।
येशूलाई दफन गरियो। तर अचम्मको घटना घट्यो। उहाँ चिहानमै रहिरहनुभएन। उहाँ मृत्युबाट जीवित भई उठ्नुभयो!
लगत्तै, परमेश्वरले उहाँलाई बादलमा उचालेर स्वर्गमा लैजानुभयो। जब उहाँका साथीहरूले उहाँ जाँदै गर्नुभएको हेर्दै थिए, एकजना स्वर्गदूतले उहाँ फेरि आउनुहुनेछ भनी बताए।
येशू हाम्रो पापको लागि पनि मर्नुभयो। हामी आफ्नो पापको निम्ति दुःखित भएको र आफ्नो पाप स्वीकार गरेको उहाँ चाहनुहुन्छ। हामीलाई क्षमा गर्नको निम्ति उहाँ तयार हुनुहुन्छ।
हामी जुनसुकै समयमा परमेश्वरलाई प्रार्थना गर्न सक्छौं। उहाँले प्रत्येक शब्द सुन्नुहुन्छ र प्रत्येक विचार जान्नुहुन्छ। हाम्रा पापहरूको क्षमा पाउँदा, उहाँले हामीलाई भित्र खुसी महसुस गराउनुहुन्छ। तब हामी जे ठीक छ त्यही गर्न इच्छा गर्छौं। तब हामी दयालु हुने इच्छा गर्छौं।
हामी परमेश्वरको आज्ञापालन नगर्ने र शैतानलाई पछ्याउने छनोट पनि गर्न सक्छौं। तर परमेश्वरको वचनले हामीलाई भन्दछ कि यदि हामीले उहाँलाई यो जीवनमा इन्कार गर्यौं भने उहाँले हामीलाई नरकमा पठाउनुहुनेछ। नरक आगोको ठाउँ हो, जुन कहिल्यै निभ्दैन।
तर यदि हामीले येशूलाई प्रेम गर्यौं र उहाँको आज्ञापालन गर्यौं भने, उहाँ आउनुहुँदा उहाँले हामीलाई स्वर्गमा लैजानुहुनेछ। स्वर्ग परमेश्वर र उहाँको पुत्र येशूको सुन्दर घर हो। यो प्रेम र ज्योतिको घर हो, जहाँ हामी सधैँ खुसी हुनेछौं।
येशू मलाई गर्छन् प्यार
१. येशू मलाई गर्छन् प्यार, यो हो सब बाइबलको सार
बालक उनका हुन् वरदान ती निर्बल उनी बलवान्।
को. प्यार गर्छन् मलाई, प्यार गर्छन् मलाई
प्यार गर्छन् मलाई येशूले गर्छन् प्यार।
२. येशू मलाई गर्छन् प्यार, प्राण दिई खोले स्वर्गको द्वार
मेरो पाप सब धुनेछन्, बालकलाई बोलाउँदछन्।
३. येशू मलाई गर्छन् प्यार, जस्तै निर्बल छु बिमार
आफ्नो सिंहासनदेखि देख्दछन् सधैँ मलाई।