जोन एन. रेनोल्ड्स
मेरो जानकारीमा आएको हालसम्मकै पुनर्जीवित भएको घटनाहरूमध्येको सबैभन्दा उत्सुकता जगाउनेखालको घटना जेफर्सन जिल्लाका एक कुख्यात घोडा चोर जर्ज लेनोक्सको थियो । उनी कारागारमा दोस्रो पटकको लागि गएका थिए । सोड्विक जिल्लाले उनलाई पहिलो पटक पनि घोडाहरू चोरेको अपराधको निम्ति नै कारागार पठाएको थियो ।
ई. सं १८८७ र १८८८ को बीचमा पर्ने हिउँदको समयमा उनले कोइला खानीमा काम गरे । उनले काम गर्दै गरेको ठाउँ उनको निम्ति जोखिमपूर्ण झैँ देखिन्थ्यो । यस तथ्यलाई उनले आफ्नो मातहतका अधिकृतलाई जानकारी गराए, जसले निरीक्षण गरे, र सो कोठा सुरक्षित रहेको ठहराउँदै, लेनोक्सलाई आफ्नो काममा फर्कने आदेश दिए । उनले आदेश शिरोपर गरेर काम थालेको एक घण्टा पनि नबित्दै त्यस कोठाको छाना खस्यो र उनी पूर्णरूपमा त्यहीँ दफन भए । उनी यस अवस्थामा पूरै दुई घण्टासम्म रहे ।
साँझको खाना खाने समयमा अनुपस्थित भएको हुनाले, सो हराएको अपराधीलाई खोजी गर्ने टोली गठन भयो, र उनी त्यही घुरानको थुप्रो मुनि भेटिए । उनको जीवन सकिए झैँ देखिन्थ्यो । उनलाई माथिल्लो निकायमा लगियो, र कारागारका चिकित्सकद्वारा जाँच गरिएपछि, मृत घोषित गरियो। उनको शरीरलाई अस्पतालमा लगियो, जहाँ उनको शवलाई पखालियो र वस्त्र पहिराउने काम गरियो, दफनको लागि तयारी गरियो । उनको शव बाकस बनाइयो र अस्पतालमा ल्याइयो l पादरी (च्याप्लिन) अब दफनको तयारीमा अन्तिम शोक विधि सम्पन्न गर्न आइपुगेका थिए । एक जोडी कैदीहरूलाई अस्पतालका नाइकेद्वारा शवलाई बोर्डबाट उठाएर त्यही कोठाको अर्कोतिर भएको शव बाकसभित्र राख्नको लागि आदेश दिइयो । उनीहरूले आज्ञा माने, एक जनाले टाउकोतिरबाट र अर्कोले खुट्टातिरबाट उठाए, उनीहरू कोठाको आधा भाग जति आइपुग्दा टाउकोतिरबाट उठाउने व्यक्ति एउटा थुकदानीमा अचानक अल्झियो, उसले आफ्नो सन्तुलन गुमायो, र शवलाई फुत्काएर झार्यो । मृत मानिसको टाउको भुइँमा बजारियो, र त्यहाँ उपस्थित सबैको अति आश्चर्य र विस्मय, एउटा गहिरो क्रन्दन सुने । चाँडै आँखाहरू खुले, र जीवनका अरु कुराहरू प्रकट हुँदै शरीरका अन्य अङ्गहरू सलबलाए । झट्टै चिकित्सकलाई बोलाउन पठाइयो, र उनी करिब ३० मिनेटको अन्तरालको समयमा त्यहाँ नआइपुगुन्जेल, सो मृत मानिसले एक कप पानी मागिसकेको थियो, र चिकित्सक आइपुग्दा पानी पिउने कार्य गर्दै थियो ।
सो शव बाकसलाई तत्कालै हटाइयो र पछि यसलाई अर्को अपराधीको शव दफन गर्नको लागि प्रयोग गरियो । उनीबाट उनको दफनका वस्त्रहरू पनि लिइयो, र उनलाई कारागारको पोसाक दिइयो । शारीरिक जाँच गर्दा उनको खुट्टाको हड्डी दुई ठाउँमा भाँचिएको र अन्यत्र चोटहरू लागेको पाइयो । उनी अस्पतालमा करिब ६ महिनासम्म रहे, र फेरि काममा फर्किए ।
मैले उनको यो अनौठो अनुभवको बारेमा एक सङ्गी खानीकर्मीबाट लगतै थाहा पाएँ । जिज्ञासाले ओतप्रोत भएर मैले लेनोक्सको आफ्नै मुखबाट उसको यो अनुभव सुन्नलाई उनीसँग चिनजान गर्ने इच्छा राखेँ । धेरै महिनासम्म नै यो मौका दिइएको थिएन । अन्ततः मौका मिल्यो । खानीबाट हटाइएपछि मलाई एउटा कारागारको कार्यालयमा केही वार्षिक प्रतिवेदन बनाउने जिम्मा दिइयो । एक दिन यो मानिस जीवनमा फर्की आएको सम्बन्धमा चर्चा हुँदै थियो, त्यही बेला ऊ कार्यालयको ढोकाबाट हुँदै जाँदै थियो र व्यक्ति उही हो भनी मलाई जानकारी दिइयो । उनको हातमा एउटा सन्देश थमाउन लामो समय लागेन, मैले उनलाई मेरो काम गर्ने स्थानमा आउनलाई अनुरोध गरेँ। उनी आए, र यहाँ मैले उनलाई राम्ररी चिनेँ, र उनको आफ्नै मुखबाट उनको उदेकको कथा सुनेँ । उनी एक जवान मानिस थिए, सायद तीस पनि नकाटेका, उनी एक कठोर अपराधी रहिआएका थिए; अति राम्रो शिक्षा पाएका र स्वाभाविक रूपमा अति चनाखो थिए ।
उनको कथाको सबैभन्दा उदेकको भाग भनेको उनी मर्दाको समयमा घटेको घटना थियो । एक सर्टह्यान्ड (आशुलिपिक) संवाददाता भएको हुनाले, मैले उनको कथा श्रुति लेखन गरेँ।
उनले भने: “मलाई बिहान भरि नै यस्तो भान भइरहेको थियो कि केही भयावह हुनेछ । मेरा ती भावनाहरूको कारणले असहज भएको हुनाले म मेरा खानीका हाकिम ग्रेसन महाशय कहाँ गएँ, र मैले कस्तो महसुस गर्दैछु भन्ने बारेमा बताएँ, र मैले काम गर्दै गरेको कोइला भएको कोठामा आएर सो कोठाको निरीक्षण गर्न सकिन्छ कि भनी उनलाई सोधेँ । उनी आए र विस्तारित जाँच गरे झैँ गरे, र त्यहाँ कुनै खतरा नभएको र म ‘बौलट्टी’ भएको जस्तो उनलाई लागेको कुरा गर्दै काममा फर्कन मलाई आदेश दिए । म आफ्नो काममा फर्केँ, करिब एक घण्टा जस्तो खन्दै गरेको थिएँ कि अचानक एकदमै अँध्यारो भयो । अनि यस्तो भान भयो कि एउटा ठूलो फलामे ढोका खुल्यो र म त्यसबाट भित्र पसेँ । तब मेरो मनमा यस्तो विचार आयो कि म ता मरिसकेको छु र अर्कै संसारमा छु । मैले कसैलाई देख्न सकेँ, न ता कुनै किसिमको आवाज नै सुनेँ । केही अज्ञात कारणले गर्दा, मैले त्यस ढोकाबाट परतिर जान सुरु गरेँ, र केही दूरी यात्रा गरिसके पछि म एउटा चौडा नदीको किनाराहरूमा आइपुगेँ । त्यहाँ न अन्धकार थियो, न ता उज्यालो नै थियो । ताराको प्रकाशले उज्यालो पारेको रात जति प्रकाशमय हुन्छ, त्यहाँ त्यति नै मात्र उज्यालो थियो । म त्यस नदीको किनारामा आइपुगेको लामो समय नबित्दै मैले पानीमा केही कुरा खियाएको आवाज सुन्न सकेँ, अनि तुरुन्तै एकजना व्यक्ति डुङ्गा खियाउँदै म उभिरहेको ठाउँमा आइपुग्यो ।
“म निशब्द थीएँ । उसले मलाई केही क्षण हेर्यो , र त्यसपछि मलाई उसले त्यस डुङ्गाभित्र चढ्न र मलाई पारिपट्टि लान ऊ त्यहाँ आएको कुरा भन्यो र अर्को तिर जानको लागि डुङ्गा खियाउन थाल्यो । मैले मानेँ । एक शब्द पनि बोलिएन । मैले उसलाई ऊ को हो र म कहाँ छु भनी सोध्ने चाह गरेँ । तर मेरो जिभ्रो मुखको तालुमै टाँसिएको जस्तै भयो । मैले एक शब्द पनि बोल्न सकिनँ । अन्ततः हामी किनाराको पारिपट्टि आइपुग्यौँ । म डुङ्गाबाट बाहिर निस्किएँ, र माझी भने दृश्यबाट लोप भयो l
“यसरी एक्लो पारिँदा, मैले के गर्ने सो थाहा पाइनँ । आफ्नो अघिल्तिर हेर्दा, मैले अन्धकार घाटी भएर गएका दुइ ओटा बाटोहरू देखेँ । यी मध्ये एउटा फराकिलो बाटो थियो र ठीकसँग यात्रा गरिएको बाटो झैँ देखिन्थ्यो । अर्को साँघुरो बाटो थियो र अर्कै दिशातिर गएको थियो । मैले स्वाभाविकरूपमा नै राम्ररी छापेको बाटो पछ्याएँ । म टाढा पनि पुगेको थिइनँ अन्धकार झन् बढ्दै गएको भान भयो । तथापि टाढाबाट बेला-बेलामा एउटा ज्योति चम्कन्थ्यो, र यसरी त्यो ज्योतिले मेरो यात्रालाई उज्यालो पार्यो ।
“अब मलाई एउटा यस्तो व्यक्तिलाई भेटेँ गरियो जसको वर्णन गर्नु मेरो लागि असम्भव छ । उसको भयावह रूपको सानो झलक मात्र म दिन सक्छु । ऊ केही हदसम्म मानिस जस्तो थियो, तर मैले देखेको कुनैपनि मानिसभन्दा अति अग्लो थियो । ऊ कम्तीमा पनि दस फिट अग्लो हुनुपर्थ्यो । उसको ढाडमा ठूला पखेटाहरू थिए । ऊ मैले खन्दै गरेको कोइला जस्तै कालो थियो, र पूर्ण रूपमा नग्न (निर्बस्त्र) अवस्थामा थियो । उसको हातमा एउटा भाला थियो, जसको बिँड ठ्याक्कै पन्ध्र फिट लामो हुनुपर्थ्यो । उसको आँखा आगोको गोलाहरू जस्तै देखिन्थे । मोती झैँ सेता उसका दाँतहरू ठ्याक्कै एक इन्च लामा झैँ देखिन्थे । उसको नाक, यदि त्यसलाई तपाईं नाक भन्न सक्नुहुन्थ्यो भने, अति लामो, फराकिलो, र थेप्चो थियो। उसको कपाल जिङ्ग्रिङ्ग, बाक्लो र लामो थियो । उसको कपाल उसको काँधबाट तल झरेको थियो । उसको आवाज मैले सम्झन सकेसम्म कुनै प्रदर्शनीमा राखेको सिंहको गर्जन झैँ सुनिन्थ्यो ।
“बेला-बेलामा ज्योति चम्कने एक समयमा नै मैले उसलाई पहिलो पटक देखेको थिएँ । उसलाई देख्दा म पीपलको पात काँपे झैँ डरले काँपेको थिएँ । उसले आफ्नो भाला यसरी उठाएको थियो कि मानौं उसले मलाई छेड्न लागेको थियो । म अचानक रोकिएँ । मैले त्यो बेलासम्म नसुनेको भयावह आवाज दिएर मलाई उसले आफुलाई पछ्याउन आदेश दियो र मेरो यात्रामा मलाई निर्देशित गर्नलाई ऊ पठाइएको हो भनी भन्यो । मैले उसलाई पछ्याएँ । अरु मैले के नै गर्न सक्थेँ र ? केही परसम्म यात्रा गरिसके पछि एउटा ठूलो पर्वत हाम्रो सामु देखा पर्नथाल्यो । हामीतिर देखिने भाग ठाडै देखिन्थ्यो, मानौं कि त्यो पर्वत दुई फ्याकमा काटिएको र एक फ्याक हटाइएको थियो । यस ठाडो भित्तोमा मैले ‘यो नरक हो’ भनी लेखिएको सजिलै देख्न सक्थेँ । मेरो मार्ग-निर्देशक यस ठाडो भित्तोमा आइपुग्यो, र आफ्ना भालाको बिँड जोडसँग तीन पटक बजार्यो । एउटा अति विशाल ढोका खुल्यो र हामी त्यसबाट भित्र पस्यौं । त्यसपछि मलाई त्यस पर्वतभित्रबाट भएर जाने जस्तो देखिने बाटोबाट अगाडि लगियो ।
“केही समयको लागि हामी मिश्री (छाम्न सकिने जस्तो) अन्धकारमा हिँड्यौं । मैले मेरो मार्ग-निर्देशकको गह्रौँ पदचापहरू सुन्न सकेँ र यसरी उसलाई पछ्याउन सक्थेँ । समस्त बाटोमा मैले कोही मर्दै गर्दाको जस्तो गहिरो चीत्कारहरू सुन्न सक्थेँ । अघि बढ्दै जाँदा, ती चीत्कारहरू झन्-झन् टड्कारो हुन्थ्यो, र मैले प्रस्ट रूपमा पानी, पानी, पानी भन्दै गरेको चीत्कारहरू सुन्न सक्थेँ । अब अर्को प्रवेश-द्वारमा आइपुग्दा, र यसबाट भएर जाँदा, यस्तो लाग्थ्यो कि मैले टाढा दशौँ लाख आवाजहरू सुन्दैछु, र ती चीत्कारहरू पानी, मात्र पानीको लागि थियो । अहिले मेरो मार्ग-निर्देशकको ढक-ढकाइमा अर्को ठूलो ढोका खुल्यो, र मैले चाल पाएँ कि हामीले त्यो पर्वतलाई छिचोलि सकेका रहेछौं, र अहिले मेरो अगाडी एउटा फराकिलो फाँट थियो ।
“यस ठाउँमा आइपुग्दा मेरो मार्ग-निर्देशकले मलाई त्यहीँ छोडेर गयो किनकि उसले अरु हराएका आत्माहरूलाई एउटै गन्तव्यमा लैजानुपर्थ्यो । म त्यस खुल्ला फाँटमा केही समय रहेँ, तब त्यो पहिलेकै जस्तो देखिने प्राणी म कहाँ आयो; तर उसको हातमा भालाको सट्टामा ठूलो तरबार थियो । ऊ मलाई मेरो भावी विनाशको बारेमा बताउन आएको थियो । उसले यस्तो आवाजमा बोल्यो कि मेरो प्राण त्रासले मरेतुल्य भयो । ‘तँ नरकमा छस्,’ उसले भन्यो, ‘तेरो लागि सबै आशा हराएको छ । यस पर्वतबाट भएर यहाँसम्म आउँदा तेरो बाटोमा ती हराएका आत्माहरूले आफ्ना सुक्खा जिभ्रोलाई भिजाउन पानी मागेका चीत्कारहरू र क्रन्दनहरू तैँले सुनिस् । त्यस बाटोमा एउटा ढोका छ जुन (अग्निकुण्ड) आगोको भट्टीतिर जानको लागि खुल्छ । यो चाँडै नै तेरो पनि नियति हुनेछ । तँलाई त्यहाँबाट कहिल्यै फर्कन दिइनेछैन किनकि त्यहाँ प्रवेश गर्नेहरूको निम्ति अब कुनै आशा छैन। तर यस यातनाको ठाउँमा पठाइनुभन्दा अघि, यस खुल्ला फाँटमा केही बेर रहने अनुमति तँलाई दिइनेछ, यस फाँटमा सबै हराएका आत्माहरूलाई उनीहरूले कष्ट भोग्नुको सट्टामा कुन कुराको आनन्द उपभोग गर्न सक्थे भन्ने कुरा हेर्ने मौका दिइन्छ ।’
“यसरी म एक्लै छोडिएँ । मैले पार गरेर आउँदा अनुभव गरेको त्यस भयानक त्रासको कारणले हो कि केले हो म जान्दिनँ, तर अहिले म अति स्तब्ध भएँ । चर्को आलस्यले मेरो तनलाई पूरै कब्जा गर्यो । मेरो शक्ति मबाट निस्कियो । मेरा हात गोडाले मेरो शरीरलाई अब साथ दिन अस्विकार गर्यो । गलेर अब त म लुत्रुक्क परेर एक पोका परेँ । रिंगटाले पनि अब मलाई समायो । पुरा ननिदाएको, आधा जागा अवस्थामा, मैले सपना झैँ देखेँ। मैले म भन्दा धेरै माथि, र निकै टाढा, हामीले बाइबलमा पढ्ने गरेको त्यस सुन्दर सहरलाई देखेँ । बिल्लौरले बनेको यसका पर्खालहरू कति भव्य र सुन्दर थिए। टाढासम्म फैलिएको अथाह समथर भागहरू सुन्दर फूलहरूले सजिएको मैले देखेँ । मैले जीवनको नदी र सिसाको समुद्र पनि देखेँ । स्वर्गदूतहरूका बिशाल भीडहरू अति सुमधुर गीतहरू गाउँदै त्यस सहरका प्रवेश-द्दारहरूबाट भित्र र बाहिर गर्थे । त्यहाँ भएका अनगन्ती कुराहरूको बीचमा, मैले मेरी प्यारी बुढी आमालाई पनि देखेँ, जो केही वर्ष अघि मेरो दुष्टताको कारणले गर्दा मन टुटेर मर्नुभएको थियो । उहाँले मतिर हेर्नुभयो र आफूतिर मलाई बोलाए झैँ गर्नुभयो, तर म डेग चल्न सकिनँ । मलाई त्यहाँ दबाउनको लागि ठूलो भारले थिचेको झैँ लाग्यो । अब हावाको मन्द झोक्काले त्यहाँका ती सुन्दर फूलहरूको बास्नालाई मतिर बहाएर ल्यायो, र अहिले मैले पहिलाभन्दा अझ स्पष्ट रूपमा ती स्वर्गदूतका आवाजहरूको सुमधुर धुनलाई सुन्न सकेँ, र मैले भनेँ, ‘अहो, म पनि उनीहरूमध्येकै एक हुन पाएको भए त !’
“जसै मैले यो स्वर्गीय आनन्दको प्यालाबाट पिउँदै थिएँ, अचानक यो मेरो ओठबाट खस्यो । मेरो लामो निद्राबाट मलाई बिउँझाइयो । मेरो स्वप्न-संसारबाट मलाई त्यही कालकोठरीका सँगीद्वारा फर्काइयो, जसले अब मेरो भावी कार्यक्षेत्र प्रवेश गर्ने समय भयो भनी भन्यो । उसलाई पछ्याउनको लागि उसले मलाई अह्रायो । आफ्ना पाइलाहरू घिस्साउँदै फेरी म त्यही अँध्यारो मार्गमा प्रवेश गरेँ, र केही समयसम्म मेरो मार्ग-निर्देशकलाई पछ्याएँ, तब हामी त्यस मार्गको एकातिरको ढोकासम्म आइपुग्यौँ, जुन ढोका खुल्यो, र त्यस ढोकाबाट प्रवेश गर्दै हामी अन्ततः अर्को ढोकामा पुग्यौं, र हेर ! मैले (अग्निकुण्ड) आगोको भट्टीलाई देखेँ ।
“मेरो अघिल्तिर मेरो आँखाले भ्याएसम्म मैले अक्षरशः आगो र गन्धकको भट्टी देख्न सक्थेँ । आगोका ठूला मुस्लाहरू एकमाथि अर्को गरी उर्लन्थे र आगोका लप्काहरू एक अर्काको विरुद्धमा बजारिन्थ्यो र वेगले चलेको आँधीबेहरीको समयमा उर्लेका समुन्द्रका छालहरू जस्तैगरी माथि हावामा उचालिन्थे । ती उर्लाइको टुप्पामा मैले मानिसहरू उचालिएको, अनि त्यस कहालीलाग्दो आगोको भट्टीको पिँधमा झट्टै हुत्तिँदै पछारिएको देख्न सक्थेँ । यी कहालीलाग्दो मुस्लाका टुप्पामा पुग्ने बेलैमा केही समयको लागि उनीहरूको आक्रोश न्यायी परमेश्वरको विरुद्धमा डरलाग्दो सुनिन्थ्यो, र पानीको लागि उनीहरूको दयनीय क्रन्दन हृदयविदारक हुन्थे । आगोको यो भयानक व्यापक क्षेत्र ती हराएका आत्माहरूको बिलौनाहरूले गुञ्जित र प्रति गुञ्जित हुँदै रह्यो ।
“हालमा मैले मेरो आँखा त्यस ढोकातिर लगाएँ जहाँबाट प्रवेश गर्नको लागि अब केही क्षण मात्र बाँकी थियो, र मैले यी डरलाग्दा शब्दहरू पढेँ, ‘यो तेरो विनाश हो; अनन्तता कहिल्यै सकिँदैन ।’ लगतै मैले मेरो खुट्टामुनिको धर्ती भासिए झैँ महसुस गरेँ, र मैले आफैलाई त्यस आगोको भट्टीमा (अग्निकुण्डमा) डुब्दै गरेको पाएँ । उल्लेख नै गर्न नसकिने पानीको प्यासले मलाई समात्यो । अनि पानीको निम्ति चिच्याउँदै गर्दा मेरो आँखा कारागारको अस्पतालमा खुल्यो ।
“कारागारका अधिकारीहरूले यस बारेमा सुनेर मलाई पागल ठान्लान् र पागलखानामा बन्द गर्लान् भन्ने डरले गर्दा मैले मेरो यो अनुभव यो भन्दा अघि कसैलाई बताएको छैन । म यी सबैबाट भएर गएँ, र अहिले म जिउँदो भएकोमा अति सन्तुष्ट छु, किनकि स्वर्ग र नरक छ, बाइबलले बताएको जस्तो किसिमको नियमित (पुरानो जमानाको) पुरातन नरक छ। तर एउटा कुरा निश्चित छ, म अब फेरि त्यो ठाउँमा जानेछैन ।
“मैले अस्पतालमा आफ्नो आँखा खोलेर आफैलाई एक पटक फेरि यस पृथ्वीमा जीवित पाए लगत्तै, मैले तुरुन्तै आफ्नो हृदय परमेश्वरलाई दिएँ र सङ्कल्प गरेँ कि म ख्रीष्टीयान भएर जिउँछु र ख्रीष्टीयान भएरै मर्छु । मेरो मानसपटलबाट नरकका ती भयावह परिदृश्यहरू कहिल्यै हट्ने छैनन्, न ता मैले देखेका स्वर्गका सुन्दर कुराहरू नै हट्ने छन् । अब केही समयपछि म मेरी प्यारी बुदीआमालाई भेट्नेछु । त्यस सुन्दर नदीको किनारामा बस्न पाउनु; सुवासिला फूलहरूले भरिएको त्यस मैदान, उपत्यका, र पहाडहरूतिर स्वर्गदूतहरूसँग यताउता गर्न पाउनु, जहाँको सौन्दर्य मरणशील मानिसले कल्पना गर्न सक्ने कुनै पनि कुराभन्दा अत्याधिक भव्य छ; अनन्त जीवन (उद्दार) पाएकाहरूले गाएको गीत सुन्न पाउनु – यी सबै कुराहरूले यस पृथ्वीमा मैले ख्रीष्टीय जीवनमा चुकाउनु पर्ने मूल्यको निम्ति आवश्यकभन्दा बढी नै भरणपोषण गर्नेछ । अब मैले शारीरिक काम-वासनाहरूलाई त्याग्नु ठूलो कुरा भएन, जसमा मैले आफैलाई यस कारागारमा आउनुभन्दा अघि अत्याधिक रूपमा संलग्न गराउँथेँ । अपराधमा संलग्न हुने साथीहरूको साथ मैले अब छोडेको छु, र म फेरि एक पटक कारागार मुक्ति भएर स्वतन्त्र व्यक्ति बनेपछि, म आफैलाई असल मानिसहरूको सङ्गतमा राख्नेछु ।”
हामीले लेनोक्सबाट जस्तो विवरण पायौँ सो पाठकहरूलाई दिएका छौं । स्वर्ग र नरकको बारेमा उल्लेख गर्ने सम्बन्धमा मानव मस्तिष्कको असक्षमतालाई हामी पहिचान गर्छौं । त्यसैले लेनोक्स महोदयको विवरण नरकको बारेमा सटीक विवरण नहुन सक्छ, तर यो अनन्ततातिरको एक झलक भने पक्कै हो । धेरै हराएका आत्माहरूको जागरणको लागि यो अनुभवलाई परमेश्वरले आशिष दिनुभएको होस् ।
अक्षरशः जल्दै गर्ने नरकको अस्तित्वलाई मानिसहरूले कसरी शङ्का गर्न सक्छन् ? अक्षरशः नरकको बारेमा सिकाउने हामीसँग बाइबल, परमेश्वरको वचन छ, र लेनोक्स महोदयको जस्तै प्रकाशहरू छन् । प्रियहरू, रोकिनुहोस्! यी तथ्यहरूको बारेमा सोच्नुहोस् ! तपाईंको जीवन अभिलेख हुँदैछ । परमेश्वरले तपाईंलाई बचाउन चाहनुहुन्छ र तपाईं एक पापी हुनुहुन्छ भन्ने कुरालाई स्विकार गर्नुभयो भने उहाँले तपाईंलाई क्षमा गर्नुहुनेछ । मुक्तिको एउटै मात्र उपाय भनेको आफ्ना पापहरूको निम्ति येशू ख्रीष्टको रगतलाई बलिदानको रूपमा ग्रहण गरेर पापबाट शुद्ध हुनु हो । जब तपाईंले परमेश्वरबाट पाइने यस क्षमालाई स्विकार गर्नुहुन्छ, उहाँले तपाईंको हृदयमा शान्ति र विश्राम दिनुहुनेछ । तपाईं स्वतन्त्र हुन सक्नुहुन्छ l यस जीवनमा स्वतन्त्र र अझ धेरै स्वर्गको आनन्द अनुभव गर्न स्वतन्त्र, अठचालीस घण्टा मात्र होइन तर वास्तविकरुपमा अनन्त कालसम्म नरकमा भोग्ने कष्टहरूबाट स्वतन्त्र ।
धनी मानिस र लाजरस
(लूका १६:१९-३१)
(१९.)“एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्थ्यो । (२०.)उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे । त्यो घावैघाउले भरिएको थियो । (२१.)त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो । कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे । (२२.)त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे । त्यो धनी मानिस पनि मर्यो र गाडियो ।
(२३.)”नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो । (२४.)अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु’ । (२५.)तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दु:खैदु:ख भोग्यो । त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस् । (२६.)यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ’ ।
(२७.)“उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्, (२८.)किनभने मेरा पाँच भाइ छन्, र त्यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्’ | (२९.)तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्’ l (३०.)तर उसले भन्यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्चात्ताप गर्नेछन्’ । (३१.)उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’ ।
थप धर्मशास्त्रका खण्डहरू: प्रकाश २१:७-८; प्रकाश २०:१०, १२, १३; २ पत्रुस ३:१०-१२