“परमेश्वर, तपाईं कहाँ हुनुहुन्छ?” “मलाई तपाईंको खाँचो छ।” “म तपाईंलाई चाहन्छु।” “मैले तपाईंलाई कसरी भेट्टाउन सक्छु?” के यो तपाईंको हृदयको सच्चा क्रन्दन हो? के तपाईंको सम्पूर्ण भावले उहाँसम्म पुग्दै गर्नुभएको, उहाँलाई खोज्दै गर्नुभएको, उहाँको चाहना राख्दै गर्नुभएको छ? तरपनि कसैगरी उहाँलाई नभेटेको जस्तो तपाईंलाई लाग्छ।
तपाईंको खोजीमा तपाईं एक्लै हुनुहुन्न। हरेक ठाउँमा र हरेक युगमा मानिसहरूले परमेश्वरको बारेमा सोध्दै आएका छन्। दुई हजार वर्षअघि एकजना धनी जवान शासक येशूकहाँ दौडँदै आएर सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?” (मर्कूस १०:१७)। जब पेन्तिकोसको दिनमा पत्रुसले प्रचार गरे, मानिसहरूले “हामीले के गर्ने?” अर्थात् “हामीले परमेश्वरलाई कसरी भेट्टाउन सक्छौं त?” भनी प्रश्न गरे। अहिलेको हाम्रो पीडित संसारको विद्यमान अशान्ति नै परमेश्वर र उहाँको प्रेमलाई खोज्दै गरेको मौन क्रन्दन हो।
सबै मानिसहरूले परमेश्वरलाई भेट्टाउनुपर्छ। परमेश्वरमा हाम्रो हृदयले विश्राम नलिएसम्म हाम्रो हृदय अशान्त भइरहन्छ। मनको शान्ति र आत्माको विश्राम अनुभव गर्नको निम्ति परमेश्वरलाई भेट्नु र उहाँसँग हिँड्नुभन्दा बाहेक अर्को कुनै उपाय छैन। येशूले भन्नुहुन्छ, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु” (मत्ती ११:२८)।
हामी परमेश्वरद्वारा र परमेश्वरकै निम्ति बनाइएका हौं भन्ने कुरालाई जब हामी महसुस गर्छौं, हामीलाई उहाँको खाँचो छ भन्ने कुरा अझ राम्ररी हामीले बुझ्न सक्छौं। हामीहरूमध्ये कोही पनि ठ्याक्क उस्तै गरी बनाइएका छैनौं, तथापि हामी उहाँको स्वरूपमा र प्रतिरूपमा बनाइएका छौं (उत्पत्ति १:२६)। हाम्रो सृष्टिकर्तासँग एकतामा रहने चाहना भएको जीवित प्राणसँगै हामी सृजिएका हौं। “जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै, हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ” (भजनसङ्ग्रह ४२:१–२)। केवल जीवित परमेश्वरले मात्र मानिसको जीवित प्राणलाई सन्तुष्ट पार्न सक्नुहुन्छ।
भजनसङ्ग्रहका लेखक दाऊदले आफ्नो अन्तर्मनको भावनालाई यसो भनेर निष्कर्ष निकाल्छन्, “मलाई केही कुराको अभाव हुँदैन” (भजनसङ्ग्रह २३:१)। परमेश्वरले नै उनको आवश्यकतालाई पूरा गर्नुभयो। दाऊद सन्तुष्ट भए किनकी सृष्टि र सृष्टिकर्ताको भेट हुँदा मात्र त्यो शान्ति आउँछ भन्ने उनले जानेका थिए। “किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ” (भजनसङ्ग्रह १०७:९)।
परमेश्वर साँचो हुनुहुन्छ। तपाईंले उहाँलाई देख्न, बुझ्न, वा पाउन सक्नुहुन्न, तापनि यो कुराले उहाँ हुनुहुन्थ्यो, अहिले हुनुहुन्छ, र सदाको लागि रहिरहनु हुनेछ भन्ने वास्तविकतालाई परिवर्तन गर्न सक्दैन। परमेश्वर हुनुहुन्छ! यसमा कहिल्यै शङ्का नगर्नुहोस्। उहाँको अस्तित्वमा दृढतापूर्वक विश्वास गर्नुहोस् र उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा निर्धक्क हुनुहोस्।
परमेश्वर सर्वत्र हुनुहुन्छ!
याकूबको इनारको छेउमा येशूले त्यस स्त्रीलाई भन्नुभयो कि परमेश्वर आत्मा हुनुहुन्छ र हामीले उहाँलाई जुनसुकै ठाउँमा, जुनसुकै समयमा भेट्टाउन सक्छौं। परमेश्वरले आफैँलाई टाढा, पुग्न नसकिने स्वर्गमा सीमित पार्नुहुन्न, न त उहाँले आफैँलाई आराधनाका स्थलहरूमा मात्र सीमित गर्नुहुन्छ। तपाईंले उहाँलाई पर्वतमा, उपत्यकामा, आकाशमा, समुन्द्रमा, तपाईंको घरमा, वा जुनसुकै ठाउँमा पाउन सक्नुहुन्छ। अहिले भर्खरै पनि उहाँ तपाईंकै वरिपरि हुनुहुन्छ।
परमेश्वरका जन याकूबले भने, “निश्चय नै यस ठाउँमा परमेश्वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन” (उत्पत्ति २८:१६)। हामी पनि धेरैजसो उहाँ नजिक हुनुहुँदा जीवनका सांसारिक थोकहरूमा यति बिघ्न तल्लीन रहन्छौं कि हामी यो थाहा नै पाउँदैनौं। हामी उहाँलाई कुनै नाटकीय प्रकारले जम्काभेट गर्ने अपेक्षा राख्छौं र त्यो “मधुरो कानेखुसी” मा उहाँलाई पहिचान गर्न असमर्थ हुन्छौं (१ राजा १९:९-१३)। हामी रोकिनुपर्छ, हामीले हेर्नु र सुन्नुपर्छ, अनि विश्वासमा हामीले उहाँलाई देख्न, सुन्न र बुझ्न सक्नेछौं।
हामीले उहाँलाई अन्धकारमा छामछाम-छुमछुम गर्दै खोजिरहनु पर्दैन। उहाँले आफैँलाई तपाईंबाट लुकाउनुहुन्न। उहाँले त तपाईंलाई पर्खँदै हुनुहुन्छ। तपाईंले उहाँलाई भेट्टाउने इच्छा राखेर उहाँको खोजी सुरु गर्नुभन्दा लामो समय अघिदेखि नै तपाईंले उहाँलाई खोज्नुभएको होस् भनी उहाँले तपाईंलाई पर्खँदै हुनुहुन्थ्यो। उहाँले तपाईंलाई उहाँको अनन्त परिवारमा रहेको चाहनुहुन्छ, जहाँ उहाँले तपाईंलाई अति व्यक्तिगत रूपमा प्रेम र वास्ता गर्न सक्नुहुन्छ। के तपाईं रित्तो, अशान्त, दोषी, हराएको वा मृत्युसँग डराएको महसुस गर्नुहुन्छ? यस्तो हो भने परमेश्वरले तपाईंलाई बोलाउँदै हुनुहुन्छ, किनकी तपाईं हराउनुभएको उहाँ चाहनुहुन्न। यो तपाईंको निम्ति पहिलो बोलावट हुन सक्छ वा अन्तिम पनि हुन सक्छ। “आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने, आफ्ना हृदय कठोर नपार” (भजनसङ्ग्रह ९५:७–८)।
सबैले पाप गरेका छन्। “धर्मी कोही छैन, एक जना पनि छैन” (रोमी ३:१०)। परमेश्वर पवित्र हुनुहुन्छ, त्यसकारण उहाँले पापलाई घृणा गर्नुहुन्छ। त्यसैले, जसै हामी उहाँको उपस्थितिमा आउँछौं, उहाँले आफ्नो वचनमा हामीलाई सिकाउनुभएको जस्तै गरी हामीले हाम्रो पापहरूसँग सामना गर्ने प्रेरणा पाउँछौं। राम्रो नैतिक जीवन जिउने कुरा कहिल्यै हाम्रो पापहरूको निम्ति प्रायश्चित्त हुन वा हाम्रो मुक्तिको निम्ति पर्याप्त हुन सक्दैन। साँचो पश्चात्तापले नै हामीलाई हाम्रो पापहरूबाट फर्काउँछ।
परमेश्वरको महान् प्रेममा, हामीले उहाँलाई भेट्टाउने मार्ग उहाँले नै बनाउनुभयो। “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)। ख्रीष्ट नै परमेश्वरसम्म पुग्ने बाटो हुनुहुन्छ। येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन" (यूहन्ना १४:६)। जब त्यस कारागारका हाकिमले सोधे, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” प्रेरित पावलले जबाफ दिए, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ” (प्रेरित १६:३०–३१)।
जब निकोदेमसले मुक्तिको बारेमा सोधपुछ गरे, येशूले जबाफ दिनुभयो, “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन” (यूहन्ना ३:३)। के तपाईं निकोदेमसले जस्तै यो कसरी हुन सक्छ भनेर सोध्नु हुन्छ? नयाँ गरी जन्मिनु भनेको परमेश्वरका पुत्र येशूलाई आफ्नो मुक्तिदाता भनी स्वीकार गर्नु हो। जसै तपाईंले उहाँको कोमल प्रेमलाई महसुस गर्नुहुन्छ, तपाईंले आफैँलाई उहाँको सामुन्ने पापी र अशुद्ध हुनुभएको महसुस गर्नुहुनेछ। तपाईंको पापहरूको लागि येशूले गर्नुभएको प्रेमपूर्ण बलिदानले तपाईंको हृदयमा गहिरो शोक उत्पन्न गराउँछ। “यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ” (१ यूहन्ना १:९)।
जसै तपाईंले विश्वास गर्नुहुन्छ, तपाईंले पूर्ण समर्पणतामा तपाईंको आफ्नो इच्छा उहाँमा सुम्पन सक्नुहुन्छ। तपाईंले एउटा नयाँ हृदय पाउनुहुन्छ र आफैँलाई इन्कार गरेर पापबाट फर्कन परमेश्वरको पवित्र आत्माले तपाईंलाई सहायता गर्नुहुन्छ। तपाईंले शान्ति आएको र परमेश्वरको नजिक हुनुभएको महसुस गर्नुहुन्छ। “यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप (शान्ति) भएको छ। उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं” (रोमी ५:१–२)।
के तपाईं उहाँलाई साँच्चै भेट्न र उहाँसँगै हिँड्न चाहनु हुन्छ? रोजाइ तपाईंको हो—नितान्तै तपाईंको। तपाईंले गुमाउनुपर्ने केही कुरा छैन, बरु सबै कुरा हासिल गर्नुहुन्छ। यदि तपाईं रोकिनुहुन्छ, आफ्नो मुहार फर्काउनुहुन्छ, र परमेश्वरतिर बढ्नुहुन्छ भने तपाईंले उहाँलाई भेट्टाउनुहुनेछ। खोजी गर्ने प्राण र खोजी गर्ने उद्धारकको जहिल्यै पनि मिलन हुन्छ! जब तपाईंले जीवनका स्रोत, परमेश्वरलाई भेट्टाउनुहुन्छ, उहाँले नै तपाईंलाई नयाँ जीवन, नयाँ हृदय, र उहाँलाई पछ्याउने इच्छा दिनुहुन्छ। सबै कुरा नयाँ हुनेछ (२ कोरिन्थी ५:१७)।
परमेश्वरसँग प्रार्थना गर्नुहोस्। उहाँले तपाईंलाई क्षमा गर्नुभएको होस् भनी उहाँसँग बिन्ती गर्नुहोस्। तपाईं आफ्नो पापहरूदेखि थाक्नु भएको छ र उहाँले तपाईंलाई जता-जता डोर्याउनुहुन्छ त्यता-त्यता उहाँलाई पछ्याउन चाहनुहुन्छ भनेर उहाँलाई भन्नुहोस्। जसै तपाईंले आज्ञाकारितामा उहाँलाई पछ्याउनुहुन्छ, उहाँको शान्तिले तपाईंलाई पर्खिरहन्छ।