प्रार्थना भनेको परमेश्वर पितालाई येशू ख्रीष्टको नाउँमा चढाइने नम्र बिन्ती हो। प्रार्थना भनेको स्वर्गमा हुनुहुने प्रेमिलो पिताको सामु हामी आफैँलाई अभिव्यक्त गर्नु हो। प्रार्थनामा हाम्रो आत्माले हाम्रो बोलिएको शब्दहरूद्वारा वा विचारहरूद्वारा समेत पनि परमेश्वरसँग कुराकानी गर्दछ। हामीले परमेश्वरसँग सञ्चार गरेको उहाँ चाहनुहुन्छ। हामी उहाँको सामु कृतज्ञता, अनुरोधहरू र निराशाहरू लिएर आउन सक्छौं।
पहिलो पटक प्रार्थना गर्दा, कुनै कुनै मानिसहरूले अनौठो लाग्छ भनी भन्छन्, मानौं की उनीहरू कसैसँग कुरा गरिरहेका छैनन्। हामीले फेरि प्रार्थना नगरेको होस् भनी शैतानले यही कुरा हामीलाई विश्वास दिलाउन चाहन्छ। सत्य कुरा के हो भने बाइबलले हामीलाई सुनिश्चित गर्छ कि, हामी जुनसुकै ठाउँमा र जुनसुकै समयमा रहेका होऔं, परमेश्वरले हाम्रो साँचो प्रार्थना सुन्नुहुन्छ। “परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ” (१ यूहन्ना ५:१४)।
प्रार्थना भनेको परमेश्वरसँग गरिने कुराकानी हो। तपाईंले महसुस गर्नुभएको र तपाईंलाई खाँचो परेको कुरा उहाँलाई बताएर उहाँसँग सिधै खुलस्त र इमानदारीपूर्वक कुरा गर्नुहोस्। तपाईंले महसुस गर्दै गर्नुभएको कुरा किन त्यसरी महसुस गर्दै हुनुहुन्छ भनी बुझ्नुभएन भने, तपाईंले त्यसबारे परमेश्वरलाई भन्नुहोस्। बाइबलले भन्छ, “त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ।” (रोमी ८:२६)। जब तपाईं हतास र निरुत्साहित हुनुहुन्छ वा खुसी र धन्यवादी हुनुहुन्छ, तब तपाईंले आफैँलाई परमेश्वरकहाँ अभिव्यक्त गर्नुहोस्। प्रार्थनामा इमानदार हुनु महत्त्वपूर्ण हुन्छ। हामीले भित्र गहिराइमा कस्तो अनुभव गर्छौं भन्ने कुरा परमेश्वरले सुन्न चाहनुहुन्छ।
परमेश्वरले तपाईंलाई के भन्न चाहनुहुन्छ त्यो सुन्नुहोस्। उहाँले हामीलाई प्रभावहरू र बिचारहरू दिएर हामीसँग बोल्नुहुन्छ। हामीले प्रार्थना गर्दै गर्दा यी आउन सक्छन्। हामीले प्रार्थना गर्दा प्रयोग गर्ने शब्दहरू पनि परमेश्वरद्वारा दिइएको प्रभावको नतिजा हुन सक्छन्। परमेश्वरले हामीसँग उहाँको इच्छा सञ्चार गर्न चाहनुहुन्छ। हामीले प्रार्थना गर्दै गर्दाको समयमा वा त्यसपछि पनि उहाँले यसो गर्न सक्नुहुन्छ। उहाँ आफ्नो आत्माद्वारा, बाइबलद्वारा, र आफ्ना जनहरूद्वारा हामीसँग बोल्नुहुन्छ।
जब हामी प्रार्थना गर्छौं, तब हामीले हाम्रो वरिपरि भएको संसारले गर्ने ध्यान-विकर्षणलाई पन्छाउनुपर्छ र परमेश्वरसँगको संसर्गमा हामी ध्यान-मग्न हुनुपर्छ। हुन त हामीले जुनसुकै ठाउँमा र जस्तोसुकै स्थितिमा प्रार्थना गर्न सक्छौं, तापनि सम्भव भएसम्म हामीलाई शान्त स्थान चाहिन्छ। जसै हामीले आँखा बन्द गर्छौं र परमेश्वरको आदरको लागि घुँडा टेक्छौं, हामी परमेश्वरमा राम्ररी ध्यान-मग्न हुन सक्छौं। हाम्रो ध्यान परमेश्वरमा केन्द्रित हुनुपर्छ (मत्ती ६:६)।
कुनै कुनै मानिसहरूले भन्छन्, “तर मैले कुन शब्दहरू चलाउने होला वा मैले आफैँलाई परमेश्वरकहाँ कसरी अभिव्यक्त गर्ने होला सो म जान्दिनँ।” हामीले फरक शब्दावली प्रयोग गर्यौं भने परमेश्वरले सुन्नुहुन्छ होला भन्ने हामीले ठानेको कारणले उनीहरूले यस्तो भनेका हुन सक्छन्। उहाँको ध्यान आकर्षण गर्न हामीले धेरै शब्दहरूको प्रयोग गर्नुपर्छ र मीठो र आकर्षक तरिकामा बोल्नुपर्छ भनी हामीले ठानेका हुन सक्छौं। वास्तवमा, छोटो र सरल प्रार्थना गर्दा परमेश्वरले तिनको सम्मान गर्नुभएको धेरै उदाहरणहरू बाइबलले हामीलाई दिन्छ। उदाहरणको लागि, एकजना पापी मानिसले प्रार्थना गर्यो, “हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्!” (लूका १८:१३)। अर्को तोडिएको र पछुताएको पापीले प्रार्थना गर्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्” (लूका २३:४२)। प्रार्थनाको निम्ति कुनै विशेष प्रकारको भाषणको प्रारूप होस् भन्ने परमेश्वरले माग गर्नुहुन्न। बाइबलमा विभिन्न पृष्ठभूमिहरू भएका मानिसहरूले गरेको प्रार्थनाहरू समावेश गरिएका छन्, जसमा कुनै दुई प्रार्थना पनि एकै खाले छैनन्।
हाम्रो प्रार्थना प्रभावकारी हुनको लागि हामी नम्रतामा परमेश्वरको सामु आउनुपर्छ। २ इतिहास ७:१४ मा हामी पढ्छौं, “यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।" परमेश्वरसँग अझ धेरै चिरपरिचित हुनको निम्ति, हामीलाई दिइएका निर्देशनहरूलाई हामीले प्रत्युत्तर दिनुपर्छ—विशेषगरी पापबाट अलग रहने सवालमा।
जसै हामी परमेश्वरसँग दिनदिनै कुरा गर्छौं, उहाँले हामीलाई दर्शन दिनुहुन्छ, हाम्रो जीवनलाई स्थिर गर्नुहुन्छ, र हाम्रो बिन्ती सुन्नुहुन्छ। “तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ” (यूहन्ना १५:७)।
येशूको नाउँमा प्रार्थना गर्नुहोस्। उहाँले भन्नुभयो, “तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु” (यूहन्ना १४:१३)। हामीसँग हाम्रो आफ्नै पुण्यकर्म छैन। हामी येशू ख्रीष्टद्वारा मात्र प्रार्थनामा परमेश्वरको सामु आउन सक्छौं।
बारम्बार प्रार्थना गर्नुहोस्। उहाँ बोल्नुहुँदा उहाँको आवाजलाई सुन्नुहोस्। उहाँले यति अनुग्रही रूपमा दिनुहुने ती भित्री अभिप्रेरणाहरूलाई पालन गर्नुहोस्। “म तिमीहरूलाई भन्दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, त तिमीहरूका निम्ति खोलिनेछ” (लूका ११:९)।