सबै जनाले कुनै न कुनै कुराको पूजा, आराधना वा उपासना गर्दछन् । केही मानिसहरूले बस्तुहरूको पूजा गर्छन्, केहीले चाहिँ कुनै मानिसलाई नै पूजा गर्छन्, केहीले भने कुनै एउटा स्वरूप, छवि वा चित्रलाई पूजा गर्छन् र अरुहरूले चाहिँ आफू स्वयम्लाई पूजा गर्छन् । तिनीहरूले विभिन्न तरिकामा आफ्ना देवी-देवताहरूप्रति आफ्नो भक्ति प्रकट गर्छन् । जसै मानिसहरूले ती देवी-देवताहरूलाई आफ्नो भक्ति चढाउँछन्, त्यसो गरिरहँदा पनि तिनीहरूका आफ्ना हृदयहरूमा चाहिँ रोदन वा पुकार र बेचैनी अझै बाँकी रहन्छ । यी मानिसहरू आफ्नो आत्मा (प्राण) का रोदनको निम्ति केवल एउटा अस्थायी राहतलाई मात्र भेट्टाउन सक्षम हुन्छन् र भोलिको सामना गर्ने हिम्मत एकदम कम राख्दछन् । तिनीहरूका निम्ति निराशाजनक कुरा यही हुनपुग्छ कि, भविष्य चाहिँ सधैँ विगत समय जस्तै छ । तिनीहरूले जुन देवताको सेवा गर्दैछन्, मानिसहरूको जीवनमा रहेको रित्तोपनालाई भर्न त्यो देवता असक्षम छ ।
तपाईं कसको पूजा (आराधना) गर्नुहुन्छ ? तपाईंको ईश्वर, देवी-देवता, भगवान, देव (god ) कहाँ बस्छन् ? के उनी जीवित छन् ? तपाईंको लागि उनले आज के गरिदिएका छन् ? के आज तपाईंसँग उनको कुराकानी भयो ? के उनले तपाईंको हृदयको पुकारलाई जवाफ दिनुभयो ? तपाईं के विश्वास गर्नुहुन्छ ?
मलाई तपाईंको सामु एक साँचो परमेश्वरको परिचय दिन दिनुहोस् । उहाँ सृष्टि गर्नुहुने परमेश्वर हुनुहुन्छ, जसले सबै कुरा वचन बोलेर नै अस्तित्वमा हुन आयो । पवित्र बाइबलले तपाईंलाई स्वर्गको यही परमेश्वरको बारेमा बताउनेछ, जसले मानिसलाई पृथ्वीको माटोबाट सृष्टि गर्नुभयो । उत्पत्तिको पुस्तक अध्याय एक र दुइलाई पढ्नुहोस् ।
उहाँ अनन्त परमेश्वर हुनुहुन्छ । उहाँको न कुनै शुरुवात् थियो र न कुनै अन्त्य नै छ । उहाँ हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ । उहाँ नै सबै कुराहरूका सृष्टिकर्ता, संरक्षक र पालनकर्ता हुनुहुन्छ (प्रेरित १७:२२-३४) ।
यही महान् परमेश्वर जो स्वर्गहरूमा बस्नुहुन्छ एक व्यक्तिको रूपमा चाहिँ तपाईंप्रति पनि अभिरुचि राख्नुहुन्छ । उहाँले तपाईंलाई मानिसहरूका भीडको बीचमा पनि देख्नुहुन्छ । उहाँ तपाईंलाई प्रेम र वास्ता गर्नुहुन्छ । उहाँ तपाईंको साथीभन्दा पनि बढी बन्न चाहनुहुन्छ । उहाँले आफ्नो पुत्रलाई तपाईंको मुक्तिदाता बन्नलाई पठाउनुभयो ।
उहाँ तपाईंसँग बस्न चाहनुहुन्छ, र त्यसभन्दा ज्यादा त यो हो कि, उहाँ तपाईं भित्र नै बास गर्न चाहनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ ममा रहो, र म तिमीहरूमा रहन्छु " (यूहन्ना १५:४) ।
यदि तपाईंको हृदयमा उहाँ बस्नु भएको छैन भने, त्यहाँ को बस्छ त ? हामीले आफ्नो बारेमा नियालेर हेर्दा, हामी देख्न सक्छौं कि शैतानले मानिसहरूको जीवनमा शासन गरिरहेको छ र यी मानिसहरूको जीवनलाई बर्बादीतिर धकेलिरहेको छ । शैतान नै त्यही व्यक्ति हो जसले यिनीहरूका हृदयहरूमा शासन गर्छ । उसैले नै यी सबै खराबीहरू जस्तै झुट बोल्न, चोरी गर्न, लालायित हुन, धोका दिन, बदला लिन, र आफू स्वयम् को मात्र उन्नति गर्नतिर लाग्नलाई सुझाब दिन्छ । यदि तपाईंको हृदयमा शैतानले बास गरेको छ र तपाईंलाई यी मध्ये कुनै पापहरू र थप अन्य पापमा लिप्त हुनलाई लोभ्याउँछ भने, तब ता किन तपाईं प्रभुहरूका परमप्रभु परमेश्वर कहाँ न आउने, जसले आफ्नो एकमात्र पुत्र, येशू ख्रीष्टलाई तपाईंको पाप र सारा संसारका पापहरूका निम्ति मर्नलाई दिनुभयो (यूहन्ना ३:१६) । र ख्रीष्ट येशू नै एक साँचो परमेश्वर हुनुहुन्छ जसले हाम्रो सबैभन्दा ठूलो शत्रू शैतानमाथि विजय प्राप्त गर्नुभएको छ । तपाईं सोध्नुहुन्छ, “ यो कसरी सत्य हुनसक्छ ? कसरी एक, जो यति महान्, सम्पूर्ण शक्तिशाली, र सर्वशक्तिमान हुनुहुन्छ, मेरो हृदयमा आई बस्न सक्नुहुन्छ ? " (यशैया ५७:१५) ।
यदि तपाईं आफ्ना पापका कारण थकित र हैरान हुनुहुन्छ भने, किन परमेश्वरलाई तपाईं पुकारा गर्नुहुन्न र पश्चात्ताप गर्नुहुन्न ? परमेश्वरमाथि राखिएको विश्वास र मानव पापको प्रायश्चित गर्न ख्रीष्टले बहाउनु भएको रगतद्वारा, तपाईंका पापहरू क्षमा हुनेछन् र तपाईंले एउटा नयाँ स्वभाव प्राप्त गर्नुहुनेछ । त्यसपछि जब शैतानले तपाईंलाई परीक्षा गर्न आउँछ, त्यस बेलामा तपाईंले सर्वशक्तिमान परमेश्वरको उपस्थितिलाई महसूस गर्नुहुनेछ । उहाँले तपाईंलाई निर्देशन दिनुहुनेछ र सबै कुरामा तपाईंलाई सिकाउनुहुनेछ (यूहन्ना १४:२६) ।
यूहन्ना १०:१० मा येशूले प्रशस्त जीवनको प्रतिज्ञा गर्नुहुन्छ र तपाईंलाई यो दिन उहाँ सक्षम हुनुहुन्छ । यो वरदान वा उपहार त्यसबेलासम्म तपाईंको हुनेछ जबसम्म तपाईं उहाँप्रति विश्वासयोग्य र आज्ञाकारी रहनुहुन्छ । “ यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ ” (यशैया १:१९) । उहाँभन्दा बाहेक अरु कोही यति महान् छैन, देवी-देवताहरूमध्येमा पनि कोही छैनन् । यदि यस कुराले तपाईंको हृदय छोएको छ, हृदयमा बोलेको छ भने, तपाईंलाई शायद “ तपाईं नयाँ गरी जन्मनुपर्छ " शीर्षकको हाम्रो पर्चा पढ्न मन पर्नेछ होला । यो लगायत अन्य अरु पर्चालाई पनि, तपाईंले हाम्रो वेबसाइटमा भेट्टाउन सक्नुहुन्छ ।