तपाईंको बारेमा सबै कुरा जान्ने कोही हुनुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ ? परमेश्वरको पुत्र येशूले तपाईंले गर्नुभएका हरेक कुरा जान्नुहुन्छ । उहाँले नै यस संसार र यसमा भएका यावत् थोक बनाउनुभयो । उहाँले विगत, वर्तमान र भविष्य जान्नुहुन्छ । उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँ तपाईंलाई पापबाट बचाउनको निम्ति यस संसारमा आउनुभयो । तपाईंको जीवनमा खुसी ल्याउनको निम्ति उहाँसँग एउटा योजना छ ।
एक दिन येशू आफ्ना चोलाहरूसँग यात्रा गर्दै हुनुहुन्थ्यो । उहाँ सामरियाको एउटा नगरमा आउनुभयो । येशूका चोलाहरू खाना किन्नको निम्ति गएको बेलामा उहाँ आराम गर्न एउटा इनारको छेउमा बस्नुभयो ।
येशू त्यहाँ बस्दै गर्नुहुँदा, एकजना स्त्री त्यस इनारमा पानी भर्न आइन् । येशूले तिनलाई सोध्नुभयो, “के मलाई पानी पिउन दिन सक्छ्यौ ?”
त्यस स्त्री छक्क परिन् । तिनले सोधिन्, “म सामरी जातको हुँ र यहूदीहरूले हामीसँग कुनै सरोकार राख्दैनन् भन्ने के तपाईं जान्नुहुन्न ?”
येशूले तिनलाई नरम भएर जवाफ दिनुभयो, “यदि तिमीले साँच्चै परमेश्वरलाई र तिमी जोसँग कुरा गर्दैछ्यौ उसलाई जानेकी भए, तिमीले मसँग जिउँदो पानी माग्ने थियौ । मैले त्यो खुसीसाथ दिने थिएँ ।”
त्यस स्त्रीले उहाँलाई छक्क परेर हेरिन् । तिनले भनिन्, “महाशय, इनार गहिरो छ । तपाईंसित उघाउने कुनै भाँडो पनि छैन । अनि तपाईंले कहाँबाट त्यो जिउँदो पानी उघाउनुहुन्छ ?”
येशूले फेरि जवाफ दिनुभयो, “यो पानी पिउनेहरू फेरि तिर्खाउनेछन्, तर यदि तिमीले मैले दिएको पानी पियौ भने तिमी कहिल्यै तिर्खाउनेछैनौ ।”
त्यस स्त्रीले भनिन्, “महाशय, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन ।”
येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ ।”
त्यस स्त्रीले भनिन्, “मेरो पति छैन ।”
येशूले भन्नुभयो, “यो सत्य हो। तिम्रा पाँच जना पति भइसकेका छन्, र जो अहिले तिमीसँग छ, त्यो तिम्रो पति होइन ।”
यो मानिसलाई मेरो बारेमा कसरी थाहा भएको हो भनी तिनले छक्क परेर भनिन्, “महाशय, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु । मेरो एउटा प्रश्न छ । हाम्रा मानिसहरूले यस डाँडामा आराधना गर्दै आएका छौं । अनि तपाईंहरू भन्नुहुन्छ, कि आराधना गर्ने स्थान यरूशलेम हो ।”
येशूले तिनलाई भन्नुभयो, “हामीले कहाँ आराधना गर्ने भन्ने कुरा त्यत्ति महत्त्वपूर्ण होइन । आज
साँचो विश्वासीहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्न सक्छन् ।”
त्यस स्त्रीले उहाँलाई भनिन्, “म जान्दछु, कि मसीह आउनुहुन्छ, जसलाई ख्रीष्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ ।”
तब येशूले तिनलाई भन्नुभयो, “म उही हुँ ।”
तिनी आफ्नो गाग्रो छोडेर नगरतिर गइन् । तिनले कराउँदै भनिन्, “आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो । कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न ?”
तब त्यस नगरका मानिसहरू निस्केर येशूलाई भेट्न गए । उहाँ नै ख्रीष्ट, मुक्तिदाता हुनुहुन्छ भनी धेरैले विश्वास गरे, किनकि उनीहरूको बारेमा उहाँलाई सबै कुरा थाहा थियो । यो वृत्तान्त तपाईंले बाइबलमा यूहन्नाको सुसमाचारको पुस्तक ४ अध्यायको ३ पददेखि ४२ पदसम्ममा (यूहन्ना ४:३-४२) पढ्न सक्नुहुन्छ ।
येशूले हाम्रो बारेमा सबै कुरा जान्नुहुन्छ, उहाँले हाम्रो असल र खराब दुबै कुराहरू जान्नुहुन्छ । हामीले हाम्रो जीवनमा गरेका खराब कामहरू हामी लुकाउन चाहन्छौं, तर हामीले येशूबाट ती लुकाउन सक्दैनौं । हामीले गल्ती गर्दा भोग्नुपर्ने दण्डबाट हामीलाई बचाउन उहाँ आउनुभएको हो । हामीले हाम्रो हृदयमा महसुस गर्ने त्यो गह्रौँ भावना हटाउन र हामीलाई शान्ति दिन उहाँ सक्षम हुनुहुन्छ । हाम्रो पापहरू मेटाउन र हाम्रो मृत्युपछि हामीले स्वर्गमा घर पाउने कुरा सम्भव तुल्याउन उहाँ मर्नुभयो ।
तपाईंको सबै खाँचोहरू र सबै प्रश्नहरूको समाधान येशू हुनुहुन्छ । उहाँ तपाईंको साथी हुन चाहनुहुन्छ । उहाँले तपाईंको हृदयको रिक्ततालाई भर्न चाहनुहुन्छ । उहाँले तपाईंको डर र अशान्तिलाई शान्ति र सौम्यतामा परिणत गर्न सक्नुहुन्छ ।
येशूले भन्नुहुन्छ, “मकहाँ आओ ... र म तिमीहरूलाई विश्राम दिनेछु” (बाइबलमा मत्तीको पुस्तकको ११ अध्यायको २८ पद) । केवल उहाँसँग प्रार्थना गर्नुहोस् र उहाँलाई तपाईंको जीवनमा आउनलाई अनुरोध गर्नुहोस् । जसै तपाईंले यी महान् परमेश्वरलाई विश्वासमा ग्रहण गर्नुहुन्छ, उहाँ तपाईंको हृदयमा रहनुहुनेछ । उहाँको उपस्थितिले तपाईंलाई आनन्द दिनेछ । उहाँले तपाईंलाई जीवनमा शक्ति र उद्देश्य दिनुहुनेछ । उहाँ नै तपाईंको लागि समाधान हुनुहुनेछ ।