सबै कहानीहरू मध्ये, खीष्ट जन्मको कहानी नै खीष्टियानहरूका हृदयमा रहेको सबै भन्दा प्रिय (घनिष्ट) कथा हो । सारा युगभरिकै यो एक महान आश्चर्यकर्म हो । यसैमा मानव जाति प्रति रहेको परमेश्वरको प्रेम प्रदर्शित छ ।
मानिसले पाप गरिकन, आफैलाई परमेश्वरको संगति देखि अलग गरायो । अदनको बगैंचामा आदम र हव्वाले आज्ञा उल्लङ्घन गरिसके पछि परमेश्वरले तिनीहरूलाई उद्धारकर्ता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभयो (उत्पत्ति ३:१५) । जे जति गुमाइएको थियो त्यसलाई फिर्ता ल्याउने वा पुनःस्थापना गर्नु नै परमेश्वरको योजना थियो ।
उहाँले आफ्ना अगमवक्ताहरूलाई प्रेरित गर्नुभयो
उहाँले आफ्ना अगमवक्ताहरूलाई तिनीहरूका उद्धारकर्ताको आगमनको बारेमा भविष्यवाणी गर्नलाई प्रेरित गर्नुभयो । यसलाई अझ बढी प्रभावकारी बनाउनका लागि र मानिसले उहाँलाई खोजिरहेका हुन सक्दछन् भन्ने हिसाबमा, उहाँले तिनीहरूलाई पालन गर्नका निम्ति आराधना गर्ने यस्ता धार्मिक विधिहरू दिनुभयो जुन कार्यहरूले ख्रीष्टतिर संकेत गर्दथे । शताब्दीयौं देखि धेरै जना अगमवक्ताहरूलाई पवित्र आत्माले जसरी बोल्नलाई अगुवाइ गर्नु भएको थियो त्यसरी नै तिनीहरूले ख्रीष्टको बारेमा बोले । कुलपिता याकूबले यहूदालाई आशिषको यस्तो भविष्यवाणी बोले: “यहूदाको हातबाट राजदण्ड हट्नेछैन,... जबसम्म त्यसका मालिक आउँदैनन्” (उत्पत्ति ४९:१०) । परमेश्वरका महान् जन मोशाले चाहिँ यसो भने: “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफ्नै दाजु-भाइमध्येबाट मजस्तै एउटा अगमवक्ता, तिमीहरूका निम्ति खडा गर्नुहुनेछ । तिमीहरूले तिनको कुरा सुन्नू” (व्यवस्था १८:१५) । अगमवक्ता यशैयाले ती वचनहरू नै बोले जुन वचनलाई धेरै पछि गएर येशू स्वयमले आफूमाथि लागू गर्नुभयो: “परमप्रभु परमेश्वरको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ” (यशैया ६१:१) । हाम्रा मुक्तिदाताको जन्म हुनुभन्दा सात सय वर्षभन्दा पनि पहिले नै अगमवक्ता मीकाले उहाँको जन्म हुने शहरलाई एकदम ठीकसँग ठम्याउँदै यसो भने: “तर ए बेथलेहेम... तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ” (मीका ५:२) । उहाँको आगमन यस्तो समयमा हुँदै थियो, जब घोर अँध्यारोले विजय प्राप्त गरिसकेको थियो, “हेर, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ” (यशैया ६०:२) ।
समयको पूर्णतामा
समयको पूर्णतामा परमप्रभुका स्वर्गदूतले यस महान् घटनाको घोषणा गरे । सर्वप्रथम मरियमलाई भनियो कि “जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ” (लूका १:३५), र मरियमले उहाँको नाउँ येशू राख्नेछिन् अर्थात् स्वर्गदूतद्वारा तिनलाई यसो भनियो “तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ” (मत्ती १:२१) । त्यसपछि सो घटनाको बारेमा यसरी ती गोठालाहरूका माझमा घोषणा गरियो जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्दै थिए, “आज दाऊदको शहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ” (लूका २:११) । तब स्वर्गीय सेनाको एउटा दलले त्यो राती परमेश्वरको स्तुति गर्दै भने, “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति !” (लूका २:१४) । जब स्वर्गदूतहरू बिदा भएर स्वर्गमा गए, तब गोठालाहरू यो आश्चर्यचकित पार्ने घटनालाई हेर्न गए, र जे कुरा स्वर्गदूतहरूद्वारा तिनीहरूलाई भनिएको थियो ठीक उही नै तिनीहरूले भेट्टाए । पूर्वबाट आएका ज्योतिषीहरूलाई एउटा ताराद्वारा बाटो देखाइयो, तिनीहरूले उहाँको खोजी गरे र भविष्यवाणी गरे अनुसार नै उहाँलाई भेट्टाए (मत्ती २:११) । येशूको जन्म हुँदा धेरै मानिसहरू आश्चर्यचकित पारिएका थिए र “केवल येशू नाउँ मात्र त्यो नाँउ हो जुन नाउँ स्वर्गमुनि मानिसहरूले मुक्ति पाउनलाई दिइएको छ” (प्रेरित ४:१२) भन्ने कुरामा सुनिश्चित हुनलाई धेरै जनाले धर्मशास्त्रमा रहेका विवरणलाई एकएक गरी खोजेका थिए ।
येशूले यो महान वरदानलाई प्रमाणित गर्नुहुन्छ
यूहन्ना ३:१६ मा, येशूले यी कुरा भनेर यो महान वरदानलाई प्रमाणित गर्नुहुन्छ: “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् ।” परमेश्वरले आफ्नो पुत्रलाई क्रूसमा टाँगिनलाई दिनु भयो ताकि उहाँले बहाउनु भएको रगतको यो प्रायश्चितद्वारा, हामीले आफ्ना पापहरूको क्षमा प्राप्त गर्न सकेका हौं । हाम्रो मुक्ति चाहिँ उहाँको जन्म, उहाँको मृत्यु, उहाँको पुनरूत्थान, र मुक्तिदाताको रूपमा ख्रीष्टलाई हामीले ग्रहण गर्ने कुराहरूमाथि नै निर्भर हुँदछ । एक व्यक्तिले “परमेश्वर पिताको एकमात्र पुत्र” लाई विश्वास गर्नु र उहाँलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रुपमा ग्रहण गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । उहाँ त प्रशस्त मात्रामा जीवन पाऊन् भन्ने हेतुले आउनुभयो ।
सारा मानिसहरूले उहाँको खोजी गरुन्
सारा मानिसहरूले उहाँको खोजी गरुन्, उहाँलाई भेट्टाऊन (पाऊन सकून्), उहाँको आराधना गरून् र यस्तो खालको जीवनहरू जिउन् जुन उहाँको सामुन्ने ग्रहण योग्य छन् । के ख्रीष्टमसमा ख्रीष्टको जन्म दिन मनाइदै गर्दा ख्रीष्ट स्वयमलाई चाहिँ त्यहाँ सामेल गर्न नपर्ने तर बाहिरै छोड्नु पर्ने अवस्था आउने कुनै सम्भावना छ ? जुन दिन यसो हुन पुग्छ, त्यसपछि यसको प्रतिफल स्वरूप आफू भित्र अनुभव गरिएका खालीपनलाई भर्ने प्रयासमा धेरै मानिसहरूले बाहिरी आकर्षण, तडकभडक र सजावटहरू सहितका क्रियाकलापहरूलाई प्रमुख स्थान दिँदछन् । एक इमान्दार, ख्रीष्टियानले चाहिँ ख्रीष्टमस ऋतु व्यवसायिक भएर गइरहेको देख्दा अवश्य अनुभव गर्नेछ कि साँचो वास्तविक ख्रीष्टमसको अर्थ, जोस र उत्साह त हराइसकेको रहेछ । ख्रीष्टमस भनेको त बारम्बार मनन् गरिने र कहिल्यै पनि खतम नहुने एउटा पवित्र कहानीलाई पाठ गर्दै मनाइने उत्सवको एउटा समय हुनुपर्दछ । ख्रीष्टियान उत्सव मनाउँदा गरिने कार्यहरू चाहिँ चाडपर्वहरू र स्वार्थी क्रियाकलापहरूमाथि मात्र केन्द्रित हुनुहुँदैन । आउनुहोस् आनन्दपूर्वक हामी स्मरण गरौंः “पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं” (१ यूहन्ना ३:१) । “उहाँको वर्णन गर्न नसक्ने वरदानको निम्ति परमेश्वरलाई धन्यवाद होस्” (२ कोरिन्थी ९:१५) । हामी पनि विश्वास सहितको नजर र साँचो नम्रताले भरिएको आराधनामा रहेको जोसलाई लिएर पूर्वका ज्योतिषीहरू झैं त्यही तारालाई पछ्याऔं जसले बालक ख्रीष्टतिर डोर्यउँछ र उहाँलाई नै हाम्रो भक्ति चढाऔं ।