आदिमा, परमप्रभु परमेश्वरले आदम र हव्वालाई सृष्टि गरिसक्नुभएपछि, जब तिनीहरू अदनको बगैंचामा परमेश्वरसँग हिँड्डुल गर्दथे, उहाँले तिनीहरूसँग संगति गर्न मनपराउनु हुन्थ्यो। आदम र हव्वालाई पाप र खराबीको बारेमा केही थाहा थिएन किनभने तिनीहरू निर्दोष र शुद्ध थिए । परमप्रभु परमेश्वरले आदम र हव्वालाई पालन गर्नका लागि केवल एउटा मात्र आज्ञा दिनुभएको थियो । तिनीहरूलाई असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू भनी आज्ञा दिइएको थियो । आदिबाट नै, परमप्रभु परमेश्वरले मानव जातिलाई छनोट गर्ने शक्ति दिनु भएको छ, र उहाँले हामीबाट यो शक्तिलाई कहिल्यै पनि फिर्ता लिनु भएको छैन ।
शैतान, एक जना पतन भएको शक्तिशाली स्वर्गदूत हो, जसले नखानू भनी आज्ञा गरिएको रूखको फललाई खानका निम्ति परीक्षा लिएर (अर्थात् पाप गर्नलाई उक्साएर) हव्वालाई छल गर्यो । उसले हव्वालाई भन्यो कि तिनले कुनै परिणामहरू विना नै परमप्रभु परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्न सक्छिन् र फल खाएर चाहिँ तिनले परमेश्वर जस्तै हुने ज्ञानलाई प्राप्त गर्नेछिन् । त्यसपछि हव्वाले फल खाने विकल्पलाई नै छनोट गरिन् र आफ्नो पतिलाई पनि फल खानलाई दिइन् र आदमले पनि उही भयानक गलती गरे ।
कस्तो एउटा घातक छनोट ! दोषविहीन स्थिति अब यहाँ थिएन । तिनीहरू दोषी थिए। लज्जित अवस्थामा आफ्नो नग्नताको पहिचान गर्दै, तिनीहरूले अञ्जीरका पातहरू गाँसेर आफ्नो निम्ति वस्त्र बनाई आफूलाई छोप्ने प्रयास गरे । तिनीहरू परमप्रभु परमेश्वर सँग डराए र उहाँको सोर सुन्नासाथ लुके । त्यो त केवल समस्याको शुरूवात् मात्र थियो । आदम र हव्वालाई अदनको बगैँचाबाट बाहिर निकालियो र त्यसपछि तिनीहरू पाप र मृत्युको अधीनमा भए । यहाँसम्म कि तिनीहरूले गरेका कामको कारण पृथ्वीले पनि श्राप पाएको थियो ।
तिनीहरूले अब आफूलाई खराब काम गर्न तर्फ इच्छुक रहेको पाए । तिनीहरूसँग रहेको असल र खराबको ज्ञानले तिनीहरूलाई गलत काम गर्नबाट रोक्न सकेन । आत्मिक मृत्यु तिनीहरूका छोराछोरीहरूमा सर्दै गयो र अन्ततः त्यो तिनीहरूका सबै सन्तानहरूसम्मै पुग्यो ।
खराबीको प्रभाव हाम्रै वरिपरि छ । आज हामीले यस संसारमा आफूले कल्पना गर्न सक्नेसम्मको हरेक खराब कुरालाई फेला पार्न सक्छौं । मानिसहरू घमन्डी र काम वासनाले भरिएका छन्, सुख-विलास र शक्तिको खोजी गरिरहेका छन् । तिनीहरूले थुप्रै गलत छनोटहरू गर्दछन् र दुःखद परिणामहरू भोग्दछन् । एक व्यक्तिको छनोटले अक्सर उसका छेउछाउमा रहेकाहरूलाई दुःखी बनाइरहेको हुन्छ । पापका परिणामहरू कति भयानक हुँदा रहेछन् !
थुप्रै घर-परिवारहरू गलत छनोटका कारण बेखुशी छन् । छोराछोरीहरूले अक्सर कष्ट भोग्दछन् जब सम्बन्ध विच्छेदका कारण परिवारहरू अलग हुन पुग्छन् । मानिसहरू खराब बानीहरू र लतहरूमा फस्दछन् । निर्दोष छोराछोरीहरू यसलाई सामान्य मान्दै आफ्ना कलिला दिमागलाई भ्रष्ट बनाउँदै, यसैको प्रभावमा हुर्किन्छन् । यो चक्र कसरी तोडिनेछ होला त ?
आशा चाहिँ अवश्य छ ! परमप्रभु परमेश्वरले आफ्नो कृपामा आदम र हव्वा कहाँ आएर स्पष्टसँग तिनीहरूले गरेको महा पापलाई प्रकट मात्र गरेर त्यतिकै छोडिदिनु भएन, तर उहाँले त तिनीहरूका निम्ति एक जना यस्तो उद्धारकर्ताको पनि प्रतिज्ञा गर्नुभयो जसले तिनीहरूलाई पापदेखि छुटकारा दिनेछ ।
धेरै वर्ष बितेपछि, येशू ख्रीष्टको जन्म भयो । उहाँले सत्यको बाटो सिकाउनुभयो । उहाँ आउनुभयो ताकि हामीले आत्मिक जीवन पाउन सकौं र यसलाई प्रशस्त मात्रामा प्राप्त गर्न सकौं (यूहन्ना १०:१०) । यो नयाँ जीवन प्राप्त गर्न, हामी परिवर्तन हुनुपर्छ । येशूले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ" (मत्ती १८:३) ।
आदम र हव्वालाई जस्तै, हाम्रा पापहरूले हामीमा दोष र लाज ल्याउँछन् । येशूले हामीलाई हाम्रा पापहरूको पश्चात्ताप गर्न बोलाउनुहुन्छ, जसको मतलब हो हामी आफ्ना पापहरू स्वीकार गर्न र ती पापहरूलाई त्याग्न इच्छुक छौं । यदि हामी येशू कहाँ हाम्रा पापहरू क्षमा गर्न आग्रह गर्दै र उहाँ हामीलाई बचाउन सक्षम हुनुहुन्छ भन्ने विश्वास गर्दै फर्किन्छौं भने, उहाँले हाम्रो हृदयलाई शुद्ध पार्नुहुन्छ । जब हामी उहाँको आत्मामा समर्पित हुँदै उहाँको वचनको आज्ञाकारितामा हिँड्दै जान्छौं उहाँले हामीलाई दैनिक अनुग्रह दिनुहुन्छ । हामीहरू पवित्र आत्माले भरिएका छौं, जसले हामीलाई पापमाथि विजय हुनलाई शक्ति दिनुहुन्छ ! “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ - र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो -" (एफिसी २:८) । “तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो" (यूहन्ना १:१२) ।
ख्रीष्टियान विश्वासीले चाहिँ उहाँले नै उसको हेरचाह र पालन पोषणका थोकहरू उपलब्ध गराउनुहुन्छ भनेर परमेश्वरमाथि भरोसा गर्दछ । उसले पवित्र आत्माको आवाजलाई सुन्छ, जसले उसलाई सही काम गर्दा सान्त्वना दिनुहुन्छ र गलत काम गर्दा चाहिँ दोष देखाएर अब फेरि त्यस्तो नगर भन्नुहुन्छ । उसले परीक्षाहरूमाथि विजय प्राप्त गर्ने शक्ति पाउनलाई परमेश्वरमा धेरै भन्दा धेरै भरोसा राख्न सिक्छ । प्रत्येक विजयले उसको विश्वासलाई बलियो बनाउँदै लैजान्छ । उसले पाउँछ कि जब हरेक दिन ऊ परमप्रभु परमेश्वरको सक्षम अनुग्रहमाथि भर पर्दै जान्छ विजय सधैँ उसको पहुँचभित्र हुन्छ ।
एक ख्रीष्टियान विश्वासीलाई थाहा हुन्छ कि पापले चाहिँ उसलाई परमेश्वरबाट अलग गर्दछ । त्यसैले अब उसो उसले खराब संगतमा रहिरहने कुरालाई त्याग्दछ र अधार्मिक गतिविधिहरूबाट पनि ऊ टाढै रहन्छ । यो सबै गर्नका लागि परमेश्वरले उसलाई बाध्यतामा पार्नुहुन्न । संसारका खराबीहरूबाट अलग रहेर बाँच्नु नै उसले रोज्दछ ।
परमेश्वरको बालक शान्ति र मिलापमा छ, किनभने पापको दोष हटाइएको छ । परमेश्वरको प्रेम र क्षमामा विश्वस्त भएर, उसले प्रार्थनामा आफ्ना चिन्ताहरू र बोझहरूलाई परमेश्वर कहाँ ल्याउँदछ । यसले चिन्ता र डरविना बाँच्नलाई सम्भव बनाउँछ । ऊ येशूसँग दिनहुँ हिड्दछ, र यही तरिकाले साँचो खुशी र पूर्णताको प्राप्ती पनि हुँदैजान्छ । जबसम्म उसले जानाजानी पाप गर्दैन ऊ परमेश्वरसँग शान्ति र मिलापमा नै रहन्छ ।
ख्रीष्टलाई साँचो रूपमा विश्वास गर्ने व्यक्तिले चाहिँ तिनीहरूका साथमा संगति गर्न खोज्दछ जसले परमेश्वरमाथि ठीक उही तरिकाले विश्वास र भरोसा गरेको छ जस्तो उसले पनि गर्दछ । तिनीहरूले एकसाथ मिलेर आफ्ना खीष्टियान जीवनहरूका बारेमा कुराकानी गर्दा आनन्द प्राप्त गर्दछन् । तिनीहरूले एक अर्कालाई बलियो बनाउनका लागि चाहिँ आफूले पाएका आशिषहरू र सामना गर्नु परेका समस्याहरू अर्थात् आफ्ना सङ्घर्षहरूका बारेमा एक अर्का सँग बाँड्दछन् । बोझहरू हल्का बन्दछन्, र विजय हुनका लागि नयाँ सामर्थ्य प्राप्त हुँदछ ।
के तपाईं आफ्नो जीवन येशूलाई समर्पण गर्न चाहनुहुन्छ ? परमप्रभु परमेश्वरको अनुग्रह ती सबै जनाको लागि उपलब्ध छ जो जतिले पश्चात्ताप गर्नेछन् र विश्वास गर्नेछन् । आफ्नो विगत, वर्तमान र भविष्य उहाँलाई सुम्पनुहोस् । ख्रीष्टमाथि गरिने पूर्ण अनि हृदयदेखिको पश्चाताप र विश्वासले बाहेकको कुनैपनि अरु कुराले तपाईंको जीवनमा शान्ति, आनन्द र परमप्रभु परमेश्वरको सक्षम अनुग्रहलाई ल्याउन सक्दैन । कृपया आज नै ख्रीष्ट येशूलाई आफ्नो हृदय दिईहाल्नु होस् ।